Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबेमौसमी वर्षाबाट धानबालीमा क्षति पुगेका किसानलाई तीन तहमा वर्गीकरण गरी राहत प्रदान गरिने

बेमौसमी वर्षाबाट धानबालीमा क्षति पुगेका किसानलाई तीन तहमा वर्गीकरण गरी राहत प्रदान गरिने


काठमाडौँ । सरकारले बेमौसमी वर्षाबाट धान बालीमा क्षति पुगेको किसानलाई वर्गीकरण गरी राहत प्रदान गर्ने तयारी गरेको छ । सरकारले बेमौसमी वर्षाबाट धान बालीमा क्षति पुगेको किसानहरुलाई साना, मध्यम र ठूला किसान गरी वर्गीकरण गरेर राहत प्रदान गर्ने तयारी गरेको हो ।

बेमौसमी वर्षाको कारण धान बालीमा पूर्णरुपमा क्षति पुगेको साना किसानको हकमा (बढीमा १० कठ्ठासम्म वा सो बराबर जग्गा भएको) भए सो जग्गामा उत्पादन हुने धानको परिमाणको आधारमा नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागतबराबरको रकमको ६५ प्रतिशतको दरले राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मध्यम किसान (१० कठ्ठादेखि ३ बिघासम्म वा सो बराबर जग्गा भएको) भए सो जग्गामा उत्पादन हुने धानको परिमाणको आधारमा नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागतबराबरको रकमको ३० प्रतिशतका दरले राहत उपलब्ध गराउने र ठूला किसान (तीन बिघाभन्दा बढी वा सो बराबर जग्गा भएको) भए सो जग्गामा उत्पादन हुने धानको परिमाणको आधारमा नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्यन कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकमको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बेमौसमी वर्षाको कारण धान बालीमा आंशिक क्षति पुगेको कृषकको हकमा सो जग्गामा उत्पादन हुने धानको परिमाणको आधारमा नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागतबराबरको रकमको २० प्रतिशतका दरले राहत उपलब्ध गराउन समेत मन्त्रिपरिषदको निर्णयमा भनिएको छ ।

सरकराले बेमौसमी वर्षाबाट धान बालीमा क्षति पुगेको किसानलाई राहत उपलब्ध गराउन कार्यदल गठन गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सरकारले राहत वितरणसम्बन्धी कार्यविधि तयार गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (आर्थिक तथा पूर्वाधार)को संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयाोगका सह–सचिव रहने गरी कार्यदल गठन गर्ने सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नको लागि सम्बन्धित निकायलाई सोमबार परिपत्र गरेको छ । कार्यालयले अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, संघीय मामिला तथा सामान्य प्रशासन र राष्ट्रिय योजना आयोगलाई परिपत्र गरेको हो ।

कृषि मन्त्रालयले भने बेमौसमी वर्षाका कारण ११ अर्ब ८७ करोड ५१ लाख रुपैयाँ बराबरको धानबाली क्षति भएको बताएको छ । एक लाख ११ हजार छ सय नौ हेक्टरमा लगाइएको धान बालीमा क्षति पुग्नुको साथै चार लाख २४ हजार एक सय १३ हेक्टरमा लगाइएको धानबालीमा क्षति भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया