Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्रम समझदारी नवीकरण गर्न नेपाली र कोरियाली पक्ष इच्छुक

श्रम समझदारी नवीकरण गर्न नेपाली र कोरियाली पक्ष इच्छुक


काठमाडौं । सन् २०२० सेप्टेम्बर मा समाप्त भएको नेपाली कामदार दक्षिण कोरिया पठाउन भएको श्रम समझादारी (एमओयू) नवीकरण गर्न नेपाल र कोरिया सहमत भएका छन् । हरेक दुई वर्षमा नेपाल र दक्षिण कोरियाबीच हुने श्रम समझदारी नवीकरण गर्न दुवै देशका प्रतिनिधि तयार भएका हुन् ।

नेपाल र दक्षिण कोरियाका प्रतिनिधिबीच काठमाडौंमा भएको पाँचौँ बैठकले श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको हो । दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदानलाई जोड दिँदै दुवै पक्षले रोजगार अनुमति प्रणाली (ईपीएस)सम्बन्धी समझदारीपत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

श्रम समझदारी गर्न दुवै पक्ष इच्छुक देखिए पनि समय भने तोक्न सकेका छैनन् । श्रम समझदारी नवीकरण गर्दा दुवै पक्षले आ–आफ्नो समस्या तथा माग राख्ने गरेको पाइन्छ । भाषा परीक्षा पनि श्रम समझदारी नवीकरण नहुँदा हुन सकिरहेको थिएन । अर्कोतर्फ दुई पक्षबीच छलफल हुन नसक्दा कोटा निर्धारणको समेत समस्या रहेको हुनसक्छ ।

कोरिया रोजगारीमा आकर्षक तलबका कारण युवाहरु आकर्षित हुने गरेको पाइन्छ । युवाहरुले मासिक एक लाख ५० हजार तलब बुझ्ने तथा थप समय काम गरेबापत तीनदेखि चार लाख रुपैयाँसम्म पाउने हुँदा उनीहरु कोरियाको रोजगारीमा आकर्षित भएको पाइन्छ । तर, श्रम समझदारी नवीकरण नहुँदा कोरियाली रोजगारी अन्योलमा छ ।

यसअघि कोरियाली पक्षले पटक–पटक श्रम समझदारी नवीकरण गर्नको लागि नेपाली पक्षलाई जानकारी गराउँदै आए पनि त्यसलाई नेपाली पक्षले बेवास्ता गर्दै आएका थिए । पछिल्लो छलफलले भने कोरियाली रोजगारीमा केही सहजता आउने अनुमान गरिएको छ । बैठकमा नेतृत्व गरेका मन्त्रालयका सहसचिव लोकबहादुर थापाले कोरियाली पक्षलाई ईपीएसअन्तर्गत नेपालका लागि कोटा संख्या बढाउन र ईपीएस परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो भित्र्याउने व्यवस्था गर्न अनुरोध गरेका थिए । बैठकमा कोरियाली पक्षको नेतृत्व गरेका दक्षिण एसियाली तथा प्रशान्त क्षेत्रका महानिर्देशक स्यानग्रेवल लिले नेपाली पक्षको मागलाई सकारात्मक रुपमा लिएको बताइएको छ ।

कोभिड–१९ महामारीको कारण पछिल्लो समय नेपालीको लागि कोरियाली रोजगारी अन्योल बनेको अवस्था थियो । कात्तिक ८ गते ४८ जना प्रतिबद्ध कामदारलाई कोरियाले भित्र्याएसँगै कोरियाली रोजगारी सुचारु भएको थियो । करिब २० महिनापछि नेपालीको लागि कोरियाली रोजगारी खुला भएको थियो । प्रतिबद्ध कामदारलाई कोरियाली रोजगारी खुला गरेसँगै भाषा परीक्षा पास गरेर रोष्टरमा रहेका युवाहरुलाई समेत खुला गर्न कोरियाली पक्षसँग आग्रह गरेको ईपीएस शाखा, ग्वार्कोका निर्देशक सुरेश राउतले बताए ।

प्रतिबद्ध कामदारसहित कोरिया जानका लागि १२ हजार जना युवाहरु प्रतीक्षारत छन् । जसमध्ये १० हजार पाँच सय पाँच जना ईपीएस भाषा परीक्षा पास गरेका तथा नियमित प्रक्रियाबाट पाँच वर्ष काम गरी नेपाल फर्केर अर्को प्रक्रियामार्फत पुनः जान तयार भएका करिब दुई हजार जना रहेका छन् । २०१७, २०१८ र २०१९ मा १० हजार पाँच सय पाँच जनाले भाषा परीक्षा पास गरेकाहरु समेत अन्योलमा बसेको अवस्था छ ।

बैठकमा दुई पक्षबीच कोभिड–१९ को प्रतिकार्य र पुनः प्राप्ति, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल र विचार आदानप्रदान भएको थियो । ती क्षेत्रमा दुई मुलुकले एक–आपसमा सहयोग गरी अघि बढ्ने विश्वास व्यक्त गरेका थिए । सहभागीहरुले नेपाल–कोरियाको सम्बन्धको समग्र अवस्थाबारे जानकारी लिँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नताको महत्वमा जोड दिएका थिए ।

छलफलमा सह–सचिव थापासहित विभिन्न मन्त्रालयका अधिकारीहरु र महानिर्देशक लिका साथै काठमाडौंस्थित कोरियाली राजदूतावासका अधिकारी, कोरियाली अन्तर्राष्ट्रिय समन्वय समितिका क्षेत्रीय निर्देशक र नेपालस्थित ईपीएस केन्द्रका प्रतिनिधि सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया