Techie IT
×
गृहपृष्ठbreakingइच्छाराजविरुद्ध १३ सय ९० वटा उजुरी

इच्छाराजविरुद्ध १३ सय ९० वटा उजुरी

पाँच अर्ब ४१ करोड रुपैयाँ ठगी गरेको दाबी


काठमाडौं । पछिल्लो समय सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड घोटाला प्रकरण थप जटिल बन्दै गएको छ । उक्त संस्था घोटाला प्रकरणमा उजुरी गर्ने पीडित बचतकर्ताहरुको संख्या दिनदिनै बढ्दै जानु र सोसँगै दाबी रकम पनि बढ्दै जानुले यो प्रकरण थप जटिल बन्दै गएको हो ।

पूर्वसांसद एवं सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका इच्छाराज तामाङको नेतृत्वमा संगठित रुपमा भएको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको घोटाला प्रकरणमा कात्तिक २३ गते मंगलबारसम्म एक हजार तीन सय ९० वटा उजुरी परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार यही कात्तिक २३ गते अर्थात् मंगलबार साँझसम्म तामाङविरुद्ध परेको उक्त उजुरीकै आधारमा कुल दाबी रकम पाँच अर्ब ४१ करोड ८३ लाख सात हजार नौ सय ७४ रुपैयाँ ६२ पैसा पुगेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटाला गरेको प्रकरणमा असोज १८ गते सीआईबीको टोलीले तामाङसहित अन्य १२ जनालाई पक्राउ गरेको थियो । पक्राउलगत्तै सीआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुलाई उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारबाहीको लागि समेत सीआईबीमा सम्पर्क गर्न आग्रह गरेकोमा हालसम्म एक हजार तीन सय ९० वटाभन्दा बढी उजुरी परेको हो ।

पक्राउ परेका तामाङसहित १२ जनाको हकमा अहिले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भइरहेकाले उजुरी अझै बढ्नसक्ने प्रवक्ता महतोको भनाइ छ । पक्राउ परेका तामाङसहित १२ जना व्यक्तिउपर पछिल्लोपटक संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गर्न तेस्रोपटक १० दिन म्याद थप भएको छ । यसअघि अनुसन्धानको लागि पहिलोपटक पाँच दिनको लागि म्याद थप भएको थियो भने दोस्रो पटक १८ दिनको लागि म्याद थप भएको थियो ।

उक्त मितिसम्म पनि अनुसन्धान नसकिएपछि सीआईबीले पछिल्लोपटक यही कात्तिक २२ गते सोमबार पुनः १० दिनको लागि म्याद थप गरेको सीआईबीले जनाएको छ । सोअनुरुप म्याद गरेको समय २८ गते सकिन्छ । ‘उक्त अवधिमा पनि अनुसन्धान नसकिए अदालतमा आदेशअनुसार पुन म्याद थप हुन सक्छ’, उनले भने ।

सुरुमा उक्त सिभिल सेभिङमा बचत रकम जम्मा गर्ने एक सय ३७ जना पीडित बचतकर्ताहरुको ७० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको भन्दै परेको उजुरीका आधारमा पूर्वसांसद समेत रहेका तामाङसहित १२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ (सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद् एवं सिभिल बैंकको अध्यक्ष), केशवलाल श्रेष्ठ (सञ्चालक समितिको अध्यक्ष), भगवान बहादुर सिंह (सहजकर्ता प्रबन्धक), मायोनानी महर्जन (जुनियर असिस्टेन्ट मेनेजर), एलिना तुलाधर (जुनियर असिस्टेन्ट मेनेजर), शंकर प्रसाद पाठक (जुनियर अधिकृत), संगित श्रेष्ठ (असिसटेन्ट), राकेश महर्जन (लेखा अधिकृत), बुद्धराज तामाङ (जुनियर सहायक प्रबन्धक), कौस्तुभ केतन ढुंगाना (जुनियर सहायक प्रबन्धक), विजय विक्रम शाह (सिभिल होम्सका वरिष्ठ प्रबन्धक) र हरिहर लामिछाने (पूर्वलेखा समिति सदस्य) रहेका थिए ।

अनुसन्धानका क्रममा उक्त सहकारीमा कुल दुई हजार ५६ जना बचतकर्ताहरुको सात अर्ब ३६ करोड ३८ लाख ११ हजार रुपैयाँबराबरको बचत रहेको देखिएको छ । सो अनुरुप हालसम्म उक्त सहकारीमा बचत रकम जम्मा गर्ने १३ सय ९० जना पीडित बचतकर्ताहरु सम्पर्कमा आई तामाङविरुद्ध जाहेरी दिएको र अझै छ सय ६६ जना बचतकर्ताहरु जाहेरी दिँदै आउनसक्ने देखिएको छ । 


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया