Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालबाट निकासी हुने प्रमुख वस्तुमा भटमास र पामतेल अगाडि

नेपालबाट निकासी हुने प्रमुख वस्तुमा भटमास र पामतेल अगाडि


काठमाडौं । नेपालको निकासीजन्य प्रमुख वस्तुमा भटमास र पामतेल सबैभन्दा अगाडि छ । चालू आर्थिक वर्षको प्रथम तीन महिनामा भटमासको तेल, यार्नको निर्यात क्रमशः १८९.५, ५१.७ प्रतिशत र पामतेलमा भारी वृद्धि भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ को प्रथम तीन महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२.० प्रतिशत र ८८.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब पाँच करोड तथा कुल पैठारीमा ६३.७ प्रतिशतले वृद्धि भई चार खर्ब ७८ अर्ब ५२ करोड पुगेको छ । आ.व. २०७७/०७८ को प्रथम तीन महिनामा अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः९.४ रहेकोमा आ.व. २०७८/७९ को सोही अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः७.४ रहन आएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, सूर्यमुखी तेल, तयारी पोशाक, ऊनी फेल्टका उत्पादन, जुस, अलैंची, चिया, कपडा, पश्मिना शल, चाउचाउ, फलाम तथा फलामका उत्पादनहरु प्रमुख रुपमा रहेका छन् ।

समीक्षा अवधिमा भटमासको तेलको निर्यातमा १८९.५ प्रतिशतले वृद्धि भई २२ अर्ब दुई करोड पुगेको छ । यसैगरी समीक्षा अवधिमा पामतेलको निर्यातमा भारी वृद्धि भई १३ अर्ब ५१ करोड पुगेको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा ५१.७ प्रतिशतले वृद्धि भई दुई अर्ब छ करोड पुगेको छ । यसैगरी परम्परागत नेपाली निर्यातजन्य वस्तु ऊनी गलैँचाको निर्यातमा समीक्षा अवधिमा २०.५ प्रतिशतले वृद्धि भई दुई अर्ब ४६ करोड पुगेको छ । त्यसैगरी जुट तथा जुटका उत्पादनको निर्यातमा समीक्षा अवधिमा ३४.९ प्रतिशतले वृद्धि भई दुई अर्ब ३७ करोड पुगेको छ ।

पछिल्ला केही महिनाहरुमा सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुको पहिचान स्थापित गर्दै समीक्षा अवधिमा यस वस्तुको तेलको निर्यात एक अर्ब ८२ करोड पुगेको छ । यसैगरी नेपालको अर्काे परम्परागत निर्यातजन्य वस्तु तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा २६.२ प्रतिशतले वृद्धि भई दुई अर्ब २० करोड पुगेको छ । यसैगरी अर्को प्रमुख निर्यातजन्य वस्तु फेल्टको निकासीमा समीक्षा अवधिमा ३०.२ प्रतिशतले वृद्धि भई एक अर्ब ७२ करोड पुगेको छ । समीक्षा अवधिमा जुसको निकासीमा ५१.८ प्रतिशतले वृद्धि भई एक अर्ब ५१ करोड अर्ब पुगेको छ ।

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैँचीको निर्यातमा समीक्षा अवधिमा १२.८ प्रतिशतले ह्रास आई एक अर्ब २८ करोड सीमित हुन पुगेको छ । यसैगरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा ५३.५ प्रतिशतले ह्रास आई एक अर्ब एक करोडमा सीमित हुन पुगेको छ ।

चालू आर्थिक वर्षको प्रथम तीन महिनामा प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल) को निर्यात नेपालको कुल निर्यातमा ५७.४ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखा परेको छ । यस अवधिमा यी वस्तुहरुको कुल निर्यात ३७ अर्ब ३६ करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पामतेल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः ३३.९, २०.८ र २.८ प्रतिशत रहेको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा १४७.१ प्रतिशतले वृद्धि भई ५२ अर्ब ७२ करोड अर्ब पुगेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६८.७२ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षका सो हिस्सा बढेर ८१.० प्रतिशत पुगेको छ । नेपालको निर्यातमा ५७.४ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरुको निर्यात भारतमा नै भइरहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, फ्रान्स, जापान, अष्ट्रेलिया, इटाली, क्यानडा, चीन, नेदरल्यान्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् । पैठारीतर्फ समग्रमा आ.व. २०७८/०७९ को प्रथम तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा १३२.७ प्रतिशतले वृद्धि भई ५३ अर्ब ९१ करोड पुगेको छ । यसैगरी समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनहरुको आयातमा ६९.९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७६ करोड, मेसिनरी तथा पार्ट्समा ५३.९ प्रतिशतले वृद्धि भई ३५ अर्ब १० करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा ७३.४ प्रतिशतले वृद्धि भई ३४ अर्ब ३८ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरुमा २०.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड, अन्नको आयातमा १०.३ प्रतिशतले ह्रास आई १७ अर्ब ७१ करोडमा सीमित रहेको छ ।

तयारी पोशाकको आयातमा ४३.७ प्रतिशतले वृद्धि भई १० अर्ब ५३ करोड पुगेको छ । यसैगरी समीक्षा अवधिमा औषधिको आयातमा ६८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ४९ करोड पुगेको छ । समीक्षा अवधिमा कच्चा भटमास तेलको आयातमा १५३.२ प्रतिशतले भई २० अर्ब ६१ करोड पुगेको छ । दूरसञ्चारका सामग्रीको आयातमा ५५.४ प्रतिशतले वृद्धि भई २० अर्ब ६४ करोड पुगेको छ ।

नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इण्डोनेसिया, अर्जेन्टिना, यूएई, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड, मलेसिया, बंगलादेश, युक्रेन, टर्की, ब्राजिल र क्यानडा रहेका छन् । समीक्षा अवधिमा भौतिक संरचना निर्माणका सामग्रीहरु जस्तै फलाम, स्टिल तथा तिनका सामानहरु, आल्मुनियम, तामा जस्ता वस्तुहरुको आयातमा भएको वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको देखिन्छ । यसैगरी मुलुकका लागि अति आवश्यक औद्योगिक कच्चापदार्थहरु कच्चा पाम आयल, कच्चा भटमासको तेल, कच्चा सूर्यमुखी तेल, पोलिथिन ग्य्रानुअल, रबर, रसायनजस्ता वस्तुहरुको आयात उल्लेख्य रुपमा भएको छ । समीक्षा अवधिमा औद्योगिक क्रियाकलाप अभिवृद्धिमा मूख्य भूमिका खेल्ने क्यापिटल गुड्स (मेसिनरी तथा पार्ट्स) को आयातमा वृद्धि हुँदा यस्तो आयातले दीर्घकालमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।

यसैगरी समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भए पनि पेट्रोलियम पदार्थको अधिकांश आयात औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खपत भई रहेको सन्दर्भमा यी वस्तुहरुको आयातले पनि मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान दिएको पाइन्छ । चालू आर्थिक वर्ष २०७८/०७९ को समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापारघाटामा ५८.३ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा चार खर्ब १३ अर्ब ४७ करोड पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया