Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिन्धु विकास बैंक घोटालाका अभियुक्त अझै हिरासतमा

सिन्धु विकास बैंक घोटालाका अभियुक्त अझै हिरासतमा


काठमाडौं । सिन्धु विकास बैंकको दोलालघाट शाखामा ग्राहकको निक्षेप रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका सोही बैंकका दोलालघाट शाखा प्रमुख सुमन खरेल अनुसन्धानका क्रममा अझै सीआईबीको हिरासतमा छन् । बैंकिङ कसुरको अभियोगमा यही कात्तिक ८ गते पक्राउ परेका खरेलउपर पटक–पटक म्याद थप गर्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।

सीआईबीका अनुसार रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका काभ्रेको साबिक भुम्लुटार गाविस हाल भुम्लु गापा वडा नं. ८ घर भएका ३१ वर्षीय खरेललाई पहिलोपटक सात दिनको म्याद थप गरिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार सिन्धु विकास बैंकको काभ्रे, दोलालघाट शाखाले दैनिकरुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकमलाई एनसीसी बैंकको सिन्धुपाल्चोकको बाह्रबीसे शाखामा नियमितरुपमा जम्मा गर्ने गरेको थियो ।

तर सिन्धुु विकास बैंकको दोलालघाट शाखामा कार्यरत शाखा प्रमुख खरेलले एक करोड ७९ लाख ९० हजार आठ सय ५५ रुपैयाँ एनसीसी बैंकको खातामा जम्मा नगरी आफूले रकम निकाली बैंकको सम्पत्ति अपचलन गरेको देखिएको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए । यसरी ग्राहकको निक्षेप रकम अपचलन गरी बैंकिङ कसुर गर्ने कार्यमा संलग्न खरेललाई कात्तिक ८ गते पक्राउ गरी उच्च अदालत पाटनबाट पहिलोपटक सात दिनको म्याद थप गरिएको ती अधिकृतले बताए ।

पक्राउ परेका खरेलमाथि हाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान भइरहेको उनको भनाइ छ । ‘सामान्यतया रकम अपचलनसम्बन्धी यस्तो घटनामा सामान्यतया दुई जना व्यक्ति संलग्न हुुने गरेको देखिन्छ, एउटा रकम लाने ल्याउने र अर्को रकमको हिसाबकिताब चुस्त दुरुस्त राख्ने तर सिन्धुु विकास बैंकको दोलालघाट शाखामा भएको रकम अपचलनमा भने हालसम्म खरेलको मात्र संलग्नता देखिएको छ’, ती अधिकारीले भने ।

उक्त शाखामा पहिला रकम लाने ल्याउने काम खरेलले गर्ने गरेको र पछि सोही व्यक्तिलाई नै बैंकले उक्त शाखाको इन्चार्ज दिएकाले पनि हालसम्मको अनुसन्धानमा खरेलको मात्र संलग्नता देखिएको हो । अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीहरुको पनि संलग्नता देखिए उनीहरुमाथि पनि अनुसन्धान हुने सीआईबीले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया