Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली मूलका निर्मल अर्याल फ्रान्सको ओभरभिलिय सहरको उपप्रमुखमा उम्मेदवार

नेपाली मूलका निर्मल अर्याल फ्रान्सको ओभरभिलिय सहरको उपप्रमुखमा उम्मेदवार


काठमाडौं, माघ १७
फ्रान्समा आगामी मार्च महिनामा हुनलागेको निर्वाचनमा नेपाली मूलका निर्मल अर्यालले रेभेइए ओबरभिलिए समूहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी दिएका छन् । आगामी मार्च महिनाको १५ र २२ तारिकमा हुने स्थानीय तहको निर्वाचनका लागि हाल बसोबास गरिरहेको ओभरभिलिय नगरपालिकामा उपप्रमुख पदका लागि उम्मेदवारी दिएको अर्यालले बताए ।

फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशानदनी जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका हो । यस नगरपालिकामा करिब ८५ हजार जनसंख्या रहेको छ । फ्रान्समा ३५ हजारभन्दा बढी स्थानीय तह रहेको छ जसमध्ये ८५ प्रतिशत गाउँपालिका रहेका छन् । एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षकसमेत रहेका अर्याल फ्रान्सकै एक प्रतिष्ठित इन्स्योरेन्स कम्पनीको सिनियर वातावरणीय इन्जिनियर हुँदै खरिद प्रमुखको रूपमा कार्यरत रहेका छन् । अर्यालको जन्म नेपालको गोरखा जिल्लामा भएको हो । उनको प्राथमिक तथा उच्चशिक्षा भने फ्रान्समै पूरा भएको थियो । उनको समूहलाई चुनावी मैदानको दौरानमा आवश्यक पर्ने आर्थिक संकलन र परिचालनको जिम्मा पनि उनै अर्याललाई दिइएको छ ।

यो समूहको मूल नारा ‘एक दिगो र साझेदारी परियोजनाको लागि’ भन्ने रहेको छ । फ्रान्सको स्थानीय तहको समयावधि ६ वर्षसम्मका लागि हुनेछ । निर्वाचनको पहिलो चरणमा अत्यधिक बहुमत ल्याउने अर्थात् ५० प्रतिशतभन्दा माथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशतभन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ । पहिलो चरणमा अत्यधिक बहुमत नआए न्यूनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ । दोस्रो राउण्डमा जाने लिष्टहरू मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशतभन्दा माथि भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ ।

दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपङ्क्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनुपर्ने प्रावधान छ । लिष्ट तय गर्दा पार्टी अथवा समूहले पुरुष महिला पालैपालो मिलाउनु पर्छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ । ओभरभिलिय सहरमा नगरपरिषद्को संख्या ५३ जनाको रहेको छ । फ्रान्सको स्थानीय चुनावमा नगरप्रमुख को बन्ने भन्ने कुरा हरेक पार्टी अथवा समूहले घोषणा र दर्ता गर्नुपर्ने हुन्छ । नगरप्रमुखबाहेक अरु पदहरू निर्वाचनको परिणाम आएपछि तय गरिन्छ । तर अर्यालको भने उपप्रमुखमा लगभग पक्का भइसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया