Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहस्तलिखित र एमआरपी राहदानी युगको अन्त्य

हस्तलिखित र एमआरपी राहदानी युगको अन्त्य


काठमाडौं । नेपालमा हस्तलिखित र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरणको युग समाप्त हुने भएको छ । मंसिर १ गतेदेखि परीक्षणको रुपमा सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएसँगै परम्परागत राहदानीको युगको अन्त्य हुनेभएको हो । मंसिर १५ गतेसम्म परीक्षणको रुपमा न्यून संख्यामा विद्युतीय राहदानी वितरण गर्ने राहदानी विभागले जानकारी दिएको छ । ‘परीक्षणको क्रममा दैनिक ५० देखि एक सय वटासम्म विद्युतीय राहदानी वितरण गर्नेछौँ’, विभागका निर्देशक शरदराज आरनले आर्थिक दैनिकसँग भने, ‘परीक्षणमा त्रुटि नआएमा भने मागअनुरुप वितरण गर्ने तयारीमा हामी बसेका छौँ ।’

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले हस्तलिखित राहदानी मान्य नहुने भएसँगै नेपालमा एमआरपी लागू गरिएको थियो । बाध्यकारी व्यवस्था भएसँगै सरकारले हस्तलिखित राहदानी अन्त्य गरेको थियो । सोहीअनुरुप २०६७ पुस ११ देखि नेपालमा एमआरपी जारी गरिएको हो ।

विभागका अनुसार २०१९, मंसिर ४ गते हस्तलिखित राहदानी वितरण गरेको पाइन्छ । मंसिर ४ गते जारी गरिएको राहदानी नेपाल राजदूतावास, लण्डनबाट जारी गरिएको थियो । सो राहदानी इन्दु शमशेर थापाको नाममा जारी भएको राहदानी हो । विभागले प्राप्त भएको राहदानीमध्ये थापाको सबैभन्दा पुरानो राहदानी भएको बताइएको छ। राहदानी विभागले संग्रहालय निर्माणको गर्ने प्रयासको लागि सो राहदानी प्राप्त भएको समेत जानकारी दिएको छ । त्योभन्दा अघि र पछि पनि अर्थात् एमआरपी लागू हुनुभन्दा अगाडि हस्तलिखित राहदानी वितरण भएको पाइन्छ ।

विभागले हालसम्म ६९ लाख २६ हजार पाँच सय १७ वटा राहदानी वितरण गरेको छ । यी राहदानी एमआरपी हुनसक्ने विभागको भनाइ छ । पछिल्लो ११ आर्थिक वर्षमा सो संख्यामा राहदानी वितरण गरिएको हो । हरेक वर्ष लाखौँको संख्यामा राहदानी वितरण गर्ने हुँदा वितरणको संख्या लाखौँ हुन गएको हो । आर्थिक वर्ष ०७७/०७८ मा तीन लाख ४९ हजार एक सय ७५ वटा राहदानी वितरण गरेको थियो ।

यस्तै विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप १० आर्थिक वर्ष (आर्थिक वर्ष २०६७/६८–०७६/७७) को अवधिमा विभिन्न प्रयोजनको लागि ६३ लाख ७२ हजार एक सय ५३ वटा राहदानी वितरण गरेको बताउँदै सोमध्ये १२ लाख ५६ हजार दुई सय २७ वटा राहदानी महिला तथा ५१ लाख १५ हजार आठ सय ९३ वटा राहदानी पुरुषले लिएका हुन् भने ३३ वटा राहदानी भने अन्य (तेस्रोलिंगी, समलिंगीहरु) लगायतका व्यक्तिहरुले लिएको बताएको छ ।

विभागका अधिकारीहरुका अनुसार ६३ लाख राहदानीमध्ये राहदानी विभागबाट २४ लाख ६५ हजार नौ सय ५३ वटा, ७७ वटा जिल्ला र १९ वटा इलाका प्रशासन कार्यालयबाट ३२ लाख तीन हजार दुई सय ५८ वटा र कूटनीतिक नियोगमार्फत सात लाख दुई हजार नौ सय ४२ वटा राहदानी वितरण गरिएको हो ।

जसमध्ये सबैभन्दा धेरै आव ०७१/०७२ मा १३ लाख ३६ हजार आठ सय ३८ वटा र सबैभन्दा कम आव ०६७/०६८ मा एक लाख ७३ हजार सात सय ६२ वटा राहदानी वितरण गरिएको छ । यस्तै विभागले आव ०७६/०७७ मा तीन लाख ९८ हजार आठ सय ४२ वटा, आव ०७५/०७६ पाँच लाख १५ हजार एक सय ४६ वटा, आव ०७४/०७५ मा पाँच लाख ३१ हजार छ सय ३३ वटा, आव ०७३/०७४ मा पाँच लाख ५७ हजार एक सय ८८ वटा, आव ०७२/०७३ मा आठ लाख ७० हजार तीन सय ४६ वटा, आव ०७१/०७२ मा १३ लाख ३६ हजार आठ सय ३८ वटा, आव ०७०/०७१ मा १० लाख १२ हजार सात सय ३९ वटा, आव ०६९/०७० मा पाँच लाख ६८ हजार एक सय २७ वटा र आव ०६८/०६९ मा चार लाख सात हजार पाँच सय ३२ वटा राहदानी वितरण गरेको छ ।

ठूलो संख्यामा राहदानी वितरण गरेको विभागले अब भने एमआरपी नवीकरण गर्नेको लागि भने विद्युतीय राहदानी प्रदान गर्ने भएको छ । ‘हामी आगामी बुधबारदेखि नयाँ बनाउन आउने र नवीकरण गर्न आउनेलाई विद्युतीय राहदानी वितरण गर्छौँ’, उनले आर्थिक दैनिकसँग भने ।

विभागले दश आर्थिक वर्षमा सो संख्यामा राहदानी वितरण भए पनि यसमध्ये करिब ९९ प्रतिशत (६३ लाख) साधारण (हरियो) राहदानी वितरण गरेको हो । विभागले राहदानी चार प्रकारका रंगमा उपलब्ध हुन्छन् कूटनीतिक राहदानी (रातो), विशिष्ट श्रेणीका अधिकारीका लागि (निलो), सर्वसाधारणका लागि (हरियो) र शरणार्थीका लागि (कालो) रंगमा उपलब्ध गराउने गरेको छ । विद्युतीय राहदानी पनि पुरानै प्रकारमा उपलब्ध गराउने बताउँदै निर्देशक आरनले विद्युतीय राहदानीमा सेवा राहदानी भने थप गरिएको बताए ।

हरियो रंगको राहदानी लिने व्यक्तिहरुमध्ये ठूलो संख्यामा भने वैदेशिक रोजगारीमा जाने युवाहरु रहेको आकलन गरिएको छ । विभागको वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका युवाहरुमध्ये धेरै संख्यामा विदेशको मुलुकमा रहेका नेपालीहरुको लागि सम्बन्धित मुलुकमा गई एमआरपी जारी गर्ने समेत कार्यक्रम रहेको छ ।

विद्युतीय राहदानीको फाइदा तुलनात्मक रुपमा हस्तलिखित र एमआरपीभन्दा बढी रहको निर्देशक आरनको भनाइ छ । ‘यो नभिज्ने, नच्यातिने, सुरक्षित समेत रहेको छ’, उनले भने, ‘विद्युतीय राहदानी पोलिकार्बेनेटद्वारा निर्मित हुँदा भिज्ने, च्यातिने लगायतका समस्या हुँदैन । चिप्सको प्रयोग हुने हुँदा सम्पूर्ण जानकारी अर्थात् औँठा छाप, अनुहारलगायतका सम्पूर्ण जानकारी हुनेछ ।’

सरकारले आईकाओको प्रावधानअनसार एमआरपी जारी गर्ने कार्यलाई सुव्यवस्थित गर्न २०६७ जेठ ११ देखि केन्द्रीय राहदानी कार्यालय स्थापना गरेको थियो भने विभागले राहदानी ऐन, २०२४ र राहदानी नियमावली, २०७७ अनुसार राहदानी वितरण गर्दै आएको छ ।

कसले लिँदै छन् पहिलो विद्युतीय राहदानी ? मंसिर १ गते एक औपचारिक कार्यक्रम गरी विद्युतीय राहदानी वितरण गर्न लागिएको हो । आगामी बुधबार अपराह्न २ बजे सरकारले पहिलो विद्युतीय राहदानी वितरण गर्न लागे पनि पहिलो विद्युतीय राहदानी प्राप्त गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरेको छैन । निर्देशक आरनले पहिलो विद्युतीय राहदानी लिने व्यक्ति पनि सोही दिन सार्वजनिक गर्ने बताए । राहदानी विभाग त्रिपुरेश्वरस्थित परराष्ट्रमन्त्री डा. नारयण खड्काले औपचारिक कार्यक्रममार्फत विद्युतीय राहदानी जारी गर्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया