Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिभिल सेभिङ एन्ड क्रेडिटमा पाँच अर्ब ५३ करोड रुपैयाँ दाबी

सिभिल सेभिङ एन्ड क्रेडिटमा पाँच अर्ब ५३ करोड रुपैयाँ दाबी


काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड घोटाला प्रकरणमा जाहेरी दिने क्रम अझै रोकिएको छैन । उक्त संस्था घोटाला प्रकरणमा उजुरी गर्ने पीडित बचतकर्ताहरुको संख्या दिनदिनै बढ्दै जानु र सोसँगै दाबी रकम पनि बढ्दै जानुले यो प्रकरण लम्बिनुका साथै थप जटिल बन्दै गएको छ ।

पूर्वसांसद एवं सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष समेत रहेका इच्छाराज तामाङको नेतृत्वमा संगठितरुपमा भएको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको घोटाला प्रकरणमा कात्तिक ३० गते मंगलबारसम्म एक हजार चार सय ४२ वटा उजुरी परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार यही कात्तिक ३० गते अर्थात् मंगलबार साँझसम्म तामाङविरुद्ध परेको उक्त उजुरीकै आधारमा कुल दाबी रकम पाँच अर्ब ५३ करोड ३३ लाख ११ हजार एक सय ३७ रुपैयाँ पुगेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटाला गरेको प्रकरणमा असोज १८ गते सीआईबीको टोलीले तामाङसहित अन्य १२ जनालाई पक्राउ गरेको थियो । ‘पक्राउलगत्तै सीआईबीले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुलाई उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारबाहीको लागि समेत सीआईबीमा सम्पर्क गर्न आग्रह गरेकोमा हालसम्म एक हजार तीन सय ९० वटाभन्दा बढी उजुरी परेको हो’, सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक महतोले भने । पक्राउ परेका तामाङसहित १२ जनाको हकमा अहिले मुुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भइरहेकाले उजुरी अझै बढ्नसक्ने उनको भनाइ छ ।

पक्राउ परेका तामाङसहित १२ जना व्यक्तिउपर पछिल्लोपटक संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान गर्न चौथो पटक १० दिन म्याद थप भएको छ । यसअघि अनुसन्धानको लागि पहिलोपटक पाँच दिनको लागि म्याद थप भएको थियो भने दोस्रोपटक १८ दिनको लागि म्याद थप भएको थियो । यसैगरी तेस्रो पटक पनि १० दिनको लागि म्याद थप भएको थियो । ‘उक्त अवधिमा पनि अनुसन्धान नसकिएपश्चात् अदालतको आदेशअनुसार पुनः १० दिनको लागि म्याद थप गरेका हौँ’, प्रहरी उपरीक्षक महतोले भने ।

सुरुमा उक्त सिभिल सेभिङमा बचत रकम जम्मा गर्ने एक सय ३७ जना पीडित बचतकर्ताहरुको ७० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको भन्दै परेको उजुरीका आधारमा पूर्वसांसद समेत रहेका तामाङसहित १२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा इच्छाराज तामाङ (सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष), केशवलाल श्रेष्ठ (सञ्चालक समितिको अध्यक्ष), भगवान बहादुर सिंह (सहजकर्ता प्रबन्धक), मायोनानी महर्जन (जुनियर असिस्टेन्ट मेनेजर), एलिना तुलाधर (जुनियर असिसटेन्ट मेनेजर), शंकर प्रसाद पाठक (जुनियर अधिकृत), संगित श्रेष्ठ (असिस्टेन्ट), राकेश महर्जन (लेखा अधिकृत), बुद्धराज तामाङ (जुनियर सहायक प्रबन्धक), कौस्तुभ केतन ढुंगाना (जुनियर सहायक प्रबन्धक), विजय विक्रम शाह (सिभिल होम्सका वरिष्ठ प्रबन्धक) र हरिहर लामिछाने (पूर्वलेखा समिति सदस्य) रहेका थिए । अनुुसन्धानका क्रममा उक्त सहकारीमा कुुल दुई हजार ५६ जना बचतकर्ताहरुको सात अर्ब ३६ करोड ३८ लाख ११ हजार रुपैयाँबराबरको बचत रहेको देखिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया