Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचण्डिका डिष्टिलरीका मजदुर आन्दोलित

चण्डिका डिष्टिलरीका मजदुर आन्दोलित


विराटनगर । मोरङको रंगेली नगरपालिका ८ मा रवी केसीले सञ्चालन गर्दै आएको चण्डिका डिष्टिलरीका मजदुरहरूले चरणबद्ध आन्दोलन सुरु गरेका छन् । त्यहाँ कार्यरत मजदुरहरूले विभिन्न नौ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।

चण्डिकाका मजदुरहरूले सञ्चालक केसीले श्रम ऐनमा व्यवस्था भएअनुसारको पूर्ण रूपमा सुविधाहरू लागू नगरेको भन्दै ऐनअनुसारको तलब तथा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन् । सम्पूर्ण कामदार तथा कर्मचारीहरूलाई नियमित काममा लगाउनुपर्ने, वार्षिक बोनसको रूपमा तीन महिनाबराबरको खाइपाइ आएको तलबभत्ता दिने व्यवस्था गरिनुपर्ने, दशैँ खर्चबापत ४५ दिनबराबरको खाइपाइ आएको तलबभत्ता दिनुपर्ने, श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम्पूर्ण बिदाहरूका साथै महिलाहरूलाई तीज र जितिया पर्वको थप बिदा दिनुपर्नेजस्ता माग राखी मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् । यस्तै उनीहरूले कामदार तथा कर्मचारीहरूको जीवन बीमा गरिदिनुपर्ने, कम्पनीले दिँदै आएको दुई हजार पाँच सय कपडा भत्तालाई सात हजारमा वृद्धि गरिनुपर्ने, घरभाडाबापतको रकम दिनुपर्ने, रात्रि सिफ्टमा काम गर्ने कामदार तथा कर्मचारीहरूलाई मासिक तीन हजार पाँच सय थप गरी रात्रिभत्ताको व्यवस्था गरिनुपर्ने तथा प्रतिष्ठान स्तरमा ट्रेड युनियन प्रतिनिधिहरूलाई माथिल्लो कमिटीले आयोजना गर्ने बैठक गोष्ठी, सेमिनार तथा वार्ताहरूमा उपस्थित हुनुपर्दा काजबिदा दिनुपर्ने माग राखेका छन् ।

चण्डिका डिस्टिलरीका सञ्चालक रवि केसीले भने सरकारले तोकेअनुसारको पाँच हजार पाँच सय ५० रूपैयाँ र महँगीभत्ता पाँच हजार चार सय ५० रूपैयाँ एवं ग्रेड र हरेक वर्ष आधा दिनको तलब एक सय ५९ रूपैयाँ र घरभाडा १० प्रतिशतले नौ सय ५५ रूपैयाँ तथा सञ्चय कोष २० प्रतिशतका दरले एक हजार नौ सय १० गरी १८ हजार २४ रूपैयाँ आफूले उपलब्ध गराउने गरेको दाबी गरेका छन् ।

सञ्चालक केसीले उद्योग सञ्चालनको जिम्मा आफ्ना नातेदार र केही सीमित कर्मचारीको हातमा दिएपछि उद्योग विस्तारै धराशायी हुँदै बन्द हुने अवस्थामा पुगेको मजदुरहरूले बताएका छन् । पछिल्लो समय उद्योग धराशायी हुँदै जाने र उद्योगमा कार्यरत म्यानेजरदेखि माथिल्लो दर्जामा कार्यरत कर्मचारी मोटाउँदै जाने गरेको उनीहरूको आरोप छ । उक्त उद्योग विगत लामो समयदेखि विवादित बन्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया