Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमारुती सिमेन्टले गुणस्तर विभागको निर्देशन मानेन

मारुती सिमेन्टले गुणस्तर विभागको निर्देशन मानेन

निजीदेखि ठूला भवन र सडकमा पनि गुणस्तरहीन सिमेन्ट प्रयोग


काठमाडौँ । मारुती सिमेन्टले लामो समयदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर बिक्री गरी आम उपभोक्तामाथि चरम लापरबाही गरेको पुष्टि भए पनि उसको बिक्री अझै रोकिएको छैन ।‘मारुतीलगायतका केही सिमेन्टको बारेमा उजुरी परेपछि मात्र अनुसन्धान गरेका हौैँ’, नेपाल गुणस्तर तथा नापतौल विभागका एक अधिकारीले बिहीबार आर्थिक दैनिकसित भने, ‘यसले लामो समयदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको पुष्टि भएको छ ।

गुणस्तर विभागले परीक्षण गर्नुअघि बिक्री भएर खपत भएको सिमेन्टको बारेमा अनुसन्धान गर्नुपर्ने देखिएको छ । व्यक्तिका निजी घर र भवन मात्र होइन ठूला–ठूला परियोजनामा पनि यो सिमेन्ट प्रयोग भएको कारण धेरै परियोजना जोखिममा परेको कारण यसलाई सामान्य कारबाहीले पुग्दैन ।’

विभागका ती अधिकारीका अनुसार उत्पादन र बिक्री वितरण बन्द गर्न भने पनि बिहीबारसमेत मारुती सिमेन्ट बिक्रीवितरण भइरहेको छ । कतिपय परियोजनाका गोदाममा अझै पनि प्रशस्त मात्रामा सिमेन्ट बाँकी नै छ । ‘सडक ढलान गर्न र वाल उठाउन खरिद गरेको मारुती सिमेन्ट सकिएको छैन’, एक निर्माण व्यवसायीले आर्थिक दैनिकसित भने, ‘हाम्रो कम्पनीले मात्र होइन देशका अधिकांश निर्माण कम्पनीले मारुती सिमेन्ट खरिद गरेर गोदाममा राखी धमाधम निर्माणकार्य सुरु गरेका छन् ।

यही बेलामा गुणस्तरहीन भएको पुष्टि भएको कारण हामीले बनाएका संरचना लामो समयसम्म टिक्ने देखिँदैन ।’ ती निर्माण व्यवसायीका अनुसार गुणस्तर चिह्न हेरेर खरिद गरे पनि गुणस्तरहीन पुष्टि भएको कारण मारुती सिमेन्ट प्रयोग गरेर बनाइएका भौतिक संरचना दिगो नहुने बताए । ‘सिमेन्ट नै गुणस्तरहीन हुन्छ अनि दोष जति निर्माण व्यवसायीलाई जानु दुर्भाग्य हो’, ती व्यवसायीले भने ।

हरेक मानिसको जिन्दगीभरको मिहिनेतले एउटा सुन्दर घर बनाउने सपना हुन्छ । मानिसले खरिद गर्ने नै गुणस्तर चिह्न हेरेर हो । तर त्यही चिह्न लिएको सिमेन्ट नै गुणस्तरहीन भएको पुष्टि हँुदा आम नागरिकको सपनामा गम्भीर चोट पुगेको छ । गुणस्तरहीन सिमेन्ट भएको पुष्टि गरिँदासमेत मारुतीले आफ्ना बिक्रेतालाई त्यसको जानकारी दिएको छैन । उसले यस्ता समाचार बाहिर नल्याउन सञ्चारमाध्यमलाई फोन गरेर धम्की दिएको छ ।

गुणस्तर विभागले गुणस्तरहीन प्रमाणित गरिसकेको मारुती सिमेन्ट बिहीबार पनि खुल्ला रुपमा नेपाली बजारमा बिक्री भएको एक बिक्रेताले बताए । ‘हामी त खुद्रा बिक्रेता हौँ’, एक हार्डवेयर सञ्चालकले भने, ‘हामीलाई बिक्री नगर भनेर कसैले भनेको पनि छैन । त्यही भएर बिहीबार पनि बिक्री गरियो ।’

गुणस्तर विभागले मंसिर १ गते बुधबार एक विज्ञप्ति जारी गर्दै मारुती सिमेन्ट प्रयोग नगर्न आम नेपालीहरुलाई अनुरोध गर्दै बजारमा बिक्रीको लागि पठाइएको सिमेन्ट तुरुन्त बिक्री नगरी फिर्ता ल्याउन समेत कम्पनीलाई निर्देशन दिएकोमा बिहीबार सो निर्देशनको सामान्य समीक्षा समेत मारुती सिमेन्टले नगरेको स्रोतको दाबी छ ।

गुणस्तरहीन प्रमाणित भएको सिमेन्ट कति बजारमा गएको छ भनी खुलाउन सिमेन्टका ब्राण्ड म्यानेजर राजु श्रेष्ठलाई गरिएको अनुरोधमा उनले यसबारे आफूलाई केही जानकारी नभएको आर्थिक दैनिकलाई बताए । ‘विभागको निर्देशन आएपछि हाम्रा साथीहरु विभागमा बुझ्न र मिलाउन गएका छन्’, ब्राण्ड म्यानेजर श्रेष्ठले स्रोतको दाबी प्रमाणित हुने गरी भने, ‘१ गतेको निर्देशनपछि कम्पनीले सिमेन्ट फिर्ता ल्याउने नल्याउने केही कुरो भइसकेको छैन र आफूलाई थाहा पनि छैन ।’ यस विषयमा कम्पनीका तर्फबाट केही बोलिदिन अनुरोधसहित म्यासेज गर्दा सरद गोयल फोन सम्पर्कमा आएनन् ।

आफ्नो सिमेन्ट नम्बर एक भन्दै विभिन्न प्रलोभनसहित आकर्षक विज्ञापनमा लाखौँ खर्च गरेर नेपालीहरुलाई झुक्याउन माहिर यस मारुती सिमेन्टले हाल बजारमा पठाएको ४३ ग्रेडको ओपीसी सिमेन्ट कहिलेदेखि गुणस्तरहीन उत्पादन गर्दै आएको थियो भन्ने जानकारी विभागले दिएको छैन ।

विभागद्वारा संकलित मारुती सिमेन्टको नमूनामा एमपीए ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । सिमेन्टलाई बलियो बनाउन मद्दत गर्ने म्याग्नेसियम कम र चर्कन फुट्न मद्दत गर्ने आरटी रेसियो बढी भयो भने गुणस्तरहीन हुने गर्दछ । मारुती सिमेन्टको पनि यही पक्ष भएको हुनसक्ने स्रोतको दाबी छ ।

गुणस्तरहीन प्रमाणित मारुती सिमेन्टको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाललगायत नेपाली सिनेजगत्को निकै ठूला हस्तीदेखि विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुको फोटो भेटिने गरेको छ । विदेशहरुमा आफू कुनै पनि कम्पनीको ब्राण्ड एम्बेसडर बन्दै गर्दा पहिला ब्राण्डको गुणस्तर हेर्ने गर्दछन् तर नेपालमा भने ब्राण्ड एम्बेसडर पैसाको लागि मात्र बन्ने चलन हुँदै आएको छ । आफू ब्राण्ड एम्बेसडर भएको कम्पनी निकै ठूलो विवादमा पर्दा समेत नेपालका ब्राण्ड एम्बेसडरहरुले सामान्य नैतिकता समेत नदेखाउने गरेको गुनासो समेत आम रुपमा हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया