Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमसीसी चाँडो पास गर्न अमेरिकी प्रस्ताव

एमसीसी चाँडो पास गर्न अमेरिकी प्रस्ताव


काठमाडौं । अमेरिकाले कोभिड–१९, जलवायु परिवर्तन र आपसी हितका अन्य विषयमा नेपाललाई निरन्तर सघाउने तथा साझेदारी गर्ने प्रतिबद्धता दोहो-याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार साँझ उनको सरकारी निवासमा शिष्टाचार भेट गर्दै दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले नेपालप्रतिको अमेरिकी सहयोग र समर्थनको प्रतिबद्धता दोहो-याएका हुन् ।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौँ आएका सहायक विदेशमन्त्री लु र बिहीबार नै काठमाडौं आएकी उपसहायक विदेशमन्त्री किडरलिङबीच नेपाल–अमेरिका सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री र अमेरिकी कूटनीतिक टोलीबीच सात दशकभन्दा पुरानो नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ तुल्याउने, कोभिड–१९ महामारीको सन्दर्भमा सहयोगका दायरा अझ विस्तार गर्ने, महामारीपछिको पुनरुत्थान एवं पुनः प्राप्तिलगायत साझा हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिएको राससले जनाएको छ ।

वार्तामा नेपालको विकास प्राथमिकताका विभिन्न क्षेत्रका साथै ऊर्जा र भौतिक पूर्वाधारका निम्ति अमेरिकाले अनुदानस्वरुप उपलब्ध गराउने ५५ अर्बभन्दा बढीको मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)लगायत संयुक्त राज्य अमेरिकाको सहयोगका बारेमा पनि छलफल भएको थियो । यथाशक्य चाँडो एमसीसीलाई संसद्बाट अनुमोदन गर्न अमेरिकी प्रतिनिधिमण्डलले अनुरोध गरेको थियो । दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धको समग्र अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् १९४८ मा दौत्य सम्बन्ध स्थापना भएयता दुई राष्ट्रबीचको आपसी सम्बन्ध मित्रतापूर्ण छ भने नेपाल शान्त, समृद्ध, सुदृढ र प्रजातान्त्रिक देशका रूपमा विकासको पथमा अग्रसर होस् भन्ने चाहनाका साथ अमेरिकाले नेपाल सरकारका विकासका प्रयास र प्राथमिकतमा सघाउँदै आएको छ । समावेशी र प्रभावकारी शासन व्यवस्थाको निर्माण, राजनीतिक स्थायित्व र आर्थिक विकास, मानवीय सेवाका क्षेत्रमा परनिर्भरताको न्यूनीकरण, क्षेत्रीय सुरक्षा तथा बृहत् अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक योगदान पु-याउनेलगायत पहलहरूमा नेपालसँग वासिङ्टनले सहकार्य गर्दै आएको छ ।

नेपालमा अमेरिकी सहयोग शान्ति र स्थायित्व, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण, अत्यावश्यक सामाजिक सेवाको सुनिश्चितता, प्रभावकारी स्वास्थ्य सेवाको पर्याप्तता, गरिबी न्यूनीकरण, खाद्य असुरक्षा र मौसम परिवर्तनका चुनौतीहरूको सामनाजस्ता क्षेत्रमा पु-याइएको योगदानलाई थप सुदृढ गर्नेतर्फ केन्द्रित रहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया