Techie IT
×
गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा बिचौलियाहरूको ठगी अन्त्य गर्ने प्रयास

वैदेशिक रोजगारीमा बिचौलियाहरूको ठगी अन्त्य गर्ने प्रयास


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बिचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताएका छन् । मन्त्री श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानका बारेमा गरेको छलफलमा उनले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्ने बताएका हुन् ।

यस्तै मन्त्री श्रेष्ठले राम्रो गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी समेत दिए । उनले सरकारले बेलायतमा फास्ट ट्र्याकबाट १० हजार नर्स पठाउन औपचारिक पहल सुरु गरेको बताए । सीप सिकाएर राम्रा गन्तव्य मुलुकमा श्रमिक लेजाने गरी तयारी अघि बढेको उनको भनाइ थियो । यस्तै दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै उनले आगामी जनवरीसम्म छ सय जना कामदार पठाइने बताए । इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्बन्धी काम सकिएर प्रशासनिक काम मात्र बाँकी रहेकोले छिट्टै इजरायल पठाइने उनको भनाइ थियो ।

छलफलमा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले वैदेशिक रोजगारीको नयाँ गन्तव्य खाजी भइरहेको बताउँदै विभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नवीकरणको तयारी भइरहेको जानकारी दिए । मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्नेबारे छलफल भएको हो ।

फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृत्ति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरूले चासो राखेका थिए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य समेत रहेका मन्त्री श्रेष्ठलाई समितिमा बधार्ई ज्ञापन गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया