Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार

आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको बताएका छन् । मन्त्री शर्माले कोभिड १९ पछि खस्किएको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिँड्न तयार रहेको उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्र मजबुद बनाउनकै लागि पनि सरकारले निजी क्षेत्रको साथ चाहेको उनले उल्लेख गरे । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक नीजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने बताए । साथै उनले मुलुकको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकै पटक उठाउन नसकिने र त्यो सम्भव पनि नभएकाले क्रमशः विकास गर्दै जानुपर्ने बताए । ‘हाम्रो पुँजी निकै सानो आकारको छ । यसले सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ’, शर्माले थपे, ‘यसका लागि सरकारी–निजी साझेदारीको अहम भूमिका रहन्छ ।’ विकासका लागि साधन स्रोतको कुनै कमी नभएको मन्त्री तर व्यवस्थापकीय कलाको मात्र कमी भएको शर्माले बताए । मन्त्री शर्माले विकास निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउने उद्देश्यले सरकारले तयारी गरिरहेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको दाबी गरे । ‘सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कार्यान्वयन गरेर वित्तीय संस्थाहरू बचाएका छौँ । मुलुकको वित्तीय सही दिशामा रहन मदत पुगेको छ’, अधिकारीले भने, ‘यसले केही सीमित समूहलाई नकारात्मक प्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्छ ।’ साथै उनले आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जब ब्याजदर ४–५ प्रतिशतमाथि पुग्छ तब बैंकहरूमा पैसा सुक्ने समस्या रहेको बताए । विदेशी लगानीलाई ल्याउन नसकिएको कारण पनि बजारमा तरलता (लगानीयोग्य रकम)को समस्या देखिएको उनको भनाइ छ । साथै उनले एमसीसी देशका लागि आवश्यक रहेकोले तत्काल पास गर्न अर्थमन्त्रीलाई सुझाव दिए । यसले विकासमा भाइटल रोल खेल्न सक्ने उनको भनाइ छ ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिले बजारमा तरलता अभावको समस्या देखिएको बताए । सीडी रेसियोलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने भन्दै उनले अधिकांश बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेको उल्लेख गरे । यस्तै नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले पछिल्लो समय सरकार समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेको बताए । मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य रहेको उनको भनाइ थियो । सरकारले निजी क्षेत्रलाई सहजीकरण गरी नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण बन्ने र अर्थतन्त्र उत्थानमा समस्या नहुने हुँदा छिटै आर्थिक पुनरुत्थानमा जान सकिने उनले बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया