Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसांसद जिपछिरिङ लामाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सांसद जिपछिरिङ लामाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद जिपछिरिङ लामाले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दोलखाबाट महाधिवेशन प्रतिनिधि बनेका लामाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका लामाले महासंघका वर्तमान अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि रवि सिंह, नेपाली कांग्रेस दोलखाका पूर्वपार्टी सभापति ताराबहादुर कोइरालालगायतका २० जना महाधिवेशन प्रतिनिधिको उपस्थितिमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् । सामाजिक कामसँगै राजनीतिमा क्रियाशील लामा नवौँ महाधिवेशनदेखि निरन्तर महाधिवेशन र महासमिति सदस्य छन् ।

२०५६ सालको १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका लामा पार्टी फुटेपछि ११ महाधिवेशनमा तत्कालीन प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । लामा १२औँ र १३औँ महाधिवेशनमा भने पराजित भए । आसन्न महाधिवेशनको सहमहामन्त्री पदको उम्मेदवारीका लागि तयारी गरिरहेको भए पनि आफूभन्दा सिनियर साथीहरूले उक्त पदमा दाबी गरेकोले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । संस्थापन समूहसँग निकट रहेका लामाले हाल आफू कुन समूहबाट चुनाव लड्ने भन्नेचाहिँ खुलाएनन् । उनी संस्थापन समूहमा नपरे संस्थापनइतर समूहबाट चुनाव लड्न सक्ने समेत आकलन गरिएको छ । २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएका लामा २०७० सालमा भने दोलखाबाट प्रत्यक्ष चुनाव लडेर पराजित भए । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनबाट भने उनी फेरि समानुपातिक सांसद छन् ।

राजनीतिसँगै सामाजिक कामलाई सँगसँगै अघि बढाइरहेका उनले विभिन्न समयमा गरेर १२ वटा एम्बुलेन्स वितरण गरिसकेका छन् । ०७२ सालको विनाशकारी भूकम्पमा उनले सयौँको उद्धार र राहतमा सहयोग गरेका थिए । गोरखा भूकम्पमा परेर दोलखामा एक सय ७४ जनाको ज्यान गएको थियो । त्यसबेला उनले मृत्यु भएका परिवारलाई १५ हजारका दरले नगद सहयोग उपलब्ध गराएका थिए । राज्यको खर्च जुटाएरभन्दा पनि उनले धेरैजसो आफ्नो निजी खर्चमा थुप्रै सहयोग गरेका छन् । बाटो, पुल, स्कुल, खानेपानी, मन्दिर, गुम्बा निर्माणका लागि पनि सक्ने नगद दिने गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय भवन निर्माणसम्पन्न गर्नुमा पनि लामाको महत्वपूर्ण योगदान रहेको छ । डँडेल्धुरा, दोलखा, सिन्धुली, रामेछापलगायतमा पार्टीको भवन निर्माणमा समेत उनले सहयोग गरेका छन् । उनी हाल सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको महाधिवेशनकेन्द्रित आर्थिक समितिका सदस्य छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया