Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर धितो कर्जा घट्यो

सेयर धितो कर्जा घट्यो


काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप झण्डै ४८ खर्ब रुपैयाँ पुगेको छ  । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो । नेपाली बैंकिङ क्षेत्रमा अहिले लघुवित्त वित्तीय संस्था बाहेक २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । यी संस्थाहरुले यस अवधिमा प्रवाह गरेको कुल कर्जा रकम भने ४५ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र भने यस अवधिमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने पछिल्लो अवधिमा क्रमशः पाँच खर्ब ६६ अर्ब र पाँच खर्ब आठ अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेप एक दशमलव दुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७ दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ५० दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः नौ दशमलव एक प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ४९ दशमलव पाँच प्रतिशत रहेको थियो । २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४० दशमलव पाँच प्रतिशत रहेको छ । २०७७ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३ दशमलव दुई प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रकम भने सात दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३१ दशमलव सात प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह सात दशमलव चार प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १० दशमलव दुई प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह १० दशमलव चार प्रतिशतले बढेको छ ।

२०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव छ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव नौ प्रतिशत र १२ दशमलव छ प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्षको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा नौ दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा सात दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा चार दशमलव आठ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा सात दसममलव पाँच प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले पछिल्लो अवधिमा प्रवाहित कर्जामध्ये आवधिक कर्जा सात दशमलव एक प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३ दशमलव चार प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा छ दशमलव एक प्रतिशतले, रियल स्टेट कर्जाअन्तर्गत व्यक्तिगत आवासीय घर कर्जासमेत पाँच दशमलव नौं प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा चार दशमलव सात प्रतिशतले र हायर पर्चेज कर्जा तीन दशमलव छ प्रतिशतले बढेको छ । यस अवधिमा मार्जिन लेण्डिङ अर्थात् सेयर धितो कर्जा मात्र दुई दशमलव दुई प्रतिशतले घटेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया