Techie IT
×
गृहपृष्ठसमाचारसरकारी मापदण्डविपरीत निर्माण भएको इस्टर्न सिटीद्वारा धमाधम अपार्टमेन्ट बिक्री

सरकारी मापदण्डविपरीत निर्माण भएको इस्टर्न सिटीद्वारा धमाधम अपार्टमेन्ट बिक्री


विराटनगर । इस्टर्न सिटी डेभलपर्स प्रालिको नाममा निर्माण भएको संयुक्त आवास (अपार्टमेन्ट) सञ्चालकले निर्माण सम्पन्न गरी धमाधम बिक्री गर्न थालेपछि सरकारले घरजग्गाबापत उठाउँदै आएको राजस्व गुम्ने निश्चित भएको छ ।

अपार्टमेन्ट निर्माण कम्पनीले सरकारले तोकेको मापदण्डअनुसार इस्टर्न सिटी डेभलपर्स प्रालिले भवन निर्माण नगरी शक्तिको भरमा अपार्टमेन्ट निर्माण सम्पन्न गरी सरकारलाई नक्सापासका लागि दबाब दिन थालेपछि उक्त अपार्टमेन्ट विवादित बन्न पुगेको थियो । पछिल्लो समय अपार्टमेन्ट सञ्चालकले पैसा खर्च गरेर खरिद गरिएको अपार्टमेन्ट आफ्नो नाममा नामसारी नगर्दा अपार्टमेन्ट किन्नेहरू सबैको पैसा डुब्ने त्रासका कारण तनावमा थिए ।

अपार्टमेन्ट निर्माण कम्पनीले सरकारी कानुन मिचेर मापदण्डविपरीत निर्माणसम्पन्न गरेको अपार्टमेन्ट आफूले खरिद गरेको लामो समयसम्म पनि उक्त अपार्टमेन्टले निर्माण सम्पन्न भएको प्रमाणपत्र समेत पाउन नसकेको थिएन । विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाका अनुसार जुन बेला अपार्टमेन्ट निर्माण सुरु भएको थियो, त्यसबेला अपार्टमेन्ट निर्माण गर्न स्वीकृति दिने अधिकार नगरपालिकालाई थिएन । उनले अपार्टमेन्ट निर्माण सुरु भएपछि कानुनमा संशोधन भएर त्यसको अधिकार स्थानीय पालिकामा आएको हुँदा अहिले केही कानुनी कठिनाइ आएको जानकारी दिएका छन् । त्यसका लागि नयाँ कानुनअनुसार नयाँ नगर विकास समिति गठन गर्नुपर्ने हुन्छ ।

गठन प्रक्रियाका लागि सहरी विकास मन्त्रालयमा फायल पठाएकोमा त्यहाँबाट अहिलेसम्म केही निर्णय नभएको जानकारी थापाले दिएका छन । तर अपार्टमेन्ट सञ्चालकले सरकारी मापदण्डविपरीत निर्माण सम्पन्न गरेको भन्ने कुराको जानकारी समेत नदिई धमाधम अपार्टमेन्ट बिक्री गरेसँगै सरकारले घरजग्गाबापत उठाउँदै आएको राजस्व समेत गुमिरहेको छ । अपार्टमेन्ट सञ्चालकले निर्माण भएका धेरैजसो अपार्टमेन्ट बिक्री गरिसकेको र उक्त बिक्री भएको अभिलेख सरकारी रेकर्डमा समेत नभएको अपार्टमेन्ट खरिदकर्ताले जानकारी दिएका छन् । सञ्चालकले एउटा अपार्टमेन्ट एक करोडभन्दा बढी मूल्यमा धमाधम बिक्री गरेका छन् । उक्त अपार्टमेन्टको जिम्मेवारीदेखि रेखदेख गर्ने दायित्व बोकेर बसेका सञ्चालक तथा अपार्टमेन्टका म्यानेजर आसिस धनावतलाई वास्तविकता बुझ्नका लागि पटक–पटक टेलिफोन गरी सम्पर्क गर्न खोज्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

इस्टर्न सिटी डेभलपर्स प्रालि गणेश अग्रवाल, सुधीर अग्रवाल र सुशील धनावतको संयुक्त लगानीमा स्थापित कम्पनी हो । विसं २०६८ सालमा निर्माण सुरु गरेर अपार्टमेन्ट निर्माण कार्य २०७४ साल असारमा सम्पन्न भएको थियो । सो अपार्टमेन्टमा सुरुमा ५५ वटा फ्ल्याट रहेकोमा पछि थपेर ६० पु-याइएको थियो । न्यूनतम तीनवटा सयन कक्ष र बढीमा छवटासम्म सयन कक्ष रहेको एउटा फ्ल्याटको ६० लाखदेखि दुई करोडसम्ममा बिक्री गरिएको छ । तीनै जना सञ्चालकहरू राजनीतिक दलसँगको निकटता भएकै कारण शक्ति र पैसाका भरमा मापदण्डविपरीत निर्माणसम्पन्न भएको भन्दै अहिले निर्माण सम्पन्नको प्रमाणपत्र लिन सरकारलाई बाध्य बनाउने अभिप्रायले अपार्टमेन्ट सञ्चालकहरू लागेका कारण अपार्टमेन्टले सरकारी मान्यता पाउन नसकेको कुरा जानकारहरूले बताउन थालेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया