Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङमा आधारित सरकारी वित्त ६२ अर्ब २३ करोड रुपैयाँले बचतमा

बैंकिङमा आधारित सरकारी वित्त ६२ अर्ब २३ करोड रुपैयाँले बचतमा


काठमाडौं, माघ १९
सरकारी वित्त बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो पाँच महिनाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ६२ अर्ब २३ करोड रुपैयाँले बचतमा देखिएको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति ३७ अर्ब ५६ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित अर्थात् सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक संघीय सरकारको कुल खर्च दुुई खर्ब ८७ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च दुुई खर्ब ७३ अर्ब ७४ करोड रहेको थियो । समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन अर्थात् प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत तीन खर्ब ३७ अर्ब ७१ करोड रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन तीन खर्ब छ अर्ब ८७ करोड रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुुसार २०७६ मंसिर मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । सोमध्ये स्थानीय तहको खातामा मात्र ५० अर्ब ५३ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

राष्ट्र बैंकका अनुुसार चालू आवको पाँच महिनामा विस्तृत मुद्राप्रदाय तीन दशमलव छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय पाँच दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय १४ दशमलव एक प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति २३ अर्ब ३० करोड रुपैयाँले अर्थात् दुई दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ८५ अर्ब ३२ करोड आठ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा दुई दशमलव सात प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ११ दशमलव तीन प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा सञ्चित मुद्रा आठ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालू आवको पाँच महिनामा कुल आन्तरिक कर्जा तीन दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा नौ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ मंसिर मसान्तमा यस्तो कर्जा १४ दशमलव सात प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी सात दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ११ दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ मंसिरमसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४ दशमलव आठ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनको अनौपचारिक भुक्तानी गैरकानुनी :- सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनको अनौपचारिक भुक्तानीलाई राष्ट्र बैंकले गैरकानुनी भएको जनाएको छ । शुुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रसारणबापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा त्यस्तो कार्य गैरकानुुनी हुुने ठहर गरेको हो ।

राष्ट्र बैंकका अनुुसार फेसबुुक, ट्विटर, युटयुुबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र त्यसरी विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो । ‘यस्तो कार्यबाट विदेशी विनिमय अपचलन हुुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ र प्रचलित कानुुनबमोजिम कारबाही हुनेछ’, नेपाल राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया