Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–चीन व्यापारमा पूर्वाधार र कूटनीतिक पहलको कमी

नेपाल–चीन व्यापारमा पूर्वाधार र कूटनीतिक पहलको कमी


काठमाडौं । नेपालको व्यापार सहज भएको खबर प्रायः कमै सुनिन्छ । अर्कोतर्फ नेपालले व्यापारको लागि चीन र भारत दुई मुलुकको भर पर्नुपर्ने हुन्छ । कोभिड १९ महामारीपछि भने सहज मानिएको उत्तरी नाकातर्फको व्यापार समेत नेपाली व्यापारीको लागि असहज बनेको अवस्था छ । सरकारले हारगुहार गरेर उत्तरी नाका सञ्चालनमा ल्याए पनि सम्पूर्ण नाकाहरु सुचारु हुन नसक्नु र सञ्चालन भएका नाकाहरुबाट समेत पर्याप्त सामग्री (कन्टेनर) नआउनु अहिले नेपाली व्यवसायीहरुको मुख्य समस्याको रुपमा देखा परेको छ ।

उत्तरतर्फको तातोपानी नाका केही सहज भए पनि रसुवागढी–केरुङ नाका भने सहज हुन नसकेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । चिनियाँ पक्षले रसुवा–केरुङ नाका सहज नगर्दा व्यवसायी पलायन हुने अवस्था आइसकेको संघका अध्यक्ष अशोककुमार श्रेष्ठले आर्थिक दैनिकलाई बताए । ‘करिब ६ महिना हुन लाग्यो रसुवा–केरुङ नाका सहज नभएको जसले गर्दा नेपाली व्यवसायीहरुले दशैँको लागि ल्याउन चाहेको सामान समेत ल्याउन सकेनन्’, अध्यक्ष श्रेष्ठले भने, ‘अहिले पनि ल्याउन नसक्ने अवस्था छ । त्यसैले गर्दा कति व्यवसायीहरुले व्यापार नै छाडेका छन् भने सीमित व्यवसायीहरु भने व्यवसाय सञ्चालन गरिरहेका छन् ।’

चीन अर्थात् केरुङ हुँदै नेपाली व्यवसायी करोडौंको लत्ताकपडा, फलफूल, लसुन, प्याजलगायतका तरकारीजन्य सामग्री ल्याउने गर्छन् । चाडपर्वका लागि भनेर ल्याउन खोजेको करोडौँ मूल्यबराबरको लत्ताकपडा समेत चिनियाँ पक्षले सीमा नल्याउँदा व्यवसायीहरु समस्यामा परेका थिए । हाल पनि समस्या यथावत् छ ।

रसुवागढी नाका सहज नहुँदा बढी मात्रामा मझौला र साना व्यवसायीहरु ज्यादै अप्ठ्यारोमा परेका छन् । दैनिक तथा साप्ताहिक रुपमा चीनबाट सामग्री आयात गरेर ती व्यवसायीहरु आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका थिए । तर, महिनौँसम्म सामग्री आयात हुन नसक्दा व्यवसायीहरु व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

रसुवा नाकामा विशेष गरी अहिले चिनियाँ पक्षले सामान नपठाउने र कन्टेनरको भाडा बढाउनु दुईवटा प्रमुख समस्या रहेको अध्यक्ष श्रेष्ठले बताए । अर्कोतर्फ नेपाल सरकारले आवश्यक पूर्वाधारको विकास नगर्दा चीनसँगको व्यवसाय पछिल्लो समय समस्यामा परेको संघको भनाइ छ । कन्टेनर राख्ने स्थान, सडकलगायतका पूर्वाधार व्यवस्थित नहुँदा सामग्री आयात हुन नसक्ने अवस्था छ ।

चिनियाँ पक्षले कोभिड प्रोटोकलअनुरुप नाकाबाट कन्टेनर आइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तातोपानी नाकाबाट दैनिक करिब सात/आठवटा कन्टेनर आइरहेकाले असहज अवस्था नरहेको वाणिज्य सचिव दिनेश भट्टराईले दाबी गरे ।‘कोभिड प्रोटोकल र दुई पक्षबीच भएको समझदारीअनुरुप तातोपानी नाकाबाट कन्टेनर आइरहेको छ । अन्य नाका अर्थात् रसुवा–केरुङ लगायतका नाका भने सहज हुन नसक्नु भनेको प्रोटोकलकै कारणले हो’, वाणिज्य सचिव भट्टराईले आर्थिक दैनिकसँग भने, ‘हामीले चिनियाँ पक्षले गरेको आग्रहलाई बेवास्ता गर्ने कुरा पनि भएन । तर, अहिलेको अवस्थामा विस्तारै सहज होला भन्ने अपेक्षा गरौँ ।’

उनले भन्सार, मन्त्रालय र परराष्ट्र मन्त्रालय समेत नेपाल–चीन नाका सहज गर्नको लागि प्रयासरत रहेको बताए । नेपाल–चीन व्यापार सामान्य अवस्थामा जस्तै सहज होस् भन्ने चाहना रहेकोले सोहीअनुरुप सरकारी निकायहरु लागेको बताउँदै उनले चिनियाँ पक्षको आग्रहलाई समेत स्वीकार गर्दै आफूहरु अघि बढ्नुपर्ने जिम्मेवारी रहेको आर्थिक दैनिकलाई बताए ।

संघले पनि तातोपानी नाका सहज भएको बताएको छ । तातोपानी नाका सहज छ तर कन्टेनरको संख्या भने वृद्धि गर्नुपर्ने माग राखेको अध्यक्ष श्रेष्ठले बताए । तातोपानी नाकामा हाल जति कन्टेनर आइरहेको छ, त्यसलाई दोब्बर गर्नु आवश्यक रहेको उनले बताए ।

नेपाल–चीनबीचका व्यापारिक नाका सुचारु नहुँदै आयात मात्र नभई निर्यात व्यापार समेत प्रभावित बनेको छ । नेपाल–चीन व्यापारमा विशेषगरी जडीबुटी, हस्तकला सामग्री, गलैँचा, फुटवेयर, चिया, मूर्ति तथा भाँडाजन्य सामग्री निर्यात गरिन्छ भने स्याउ, लसुन, तयारी पोशाक, कपासजन्य सामग्री तथा विद्युतीय सामग्री आयात गरिन्छ ।

यस्तै यारी, मुगु, कोरला, लार्के, रसुवागढी, तातोपानी, लामाबगर, किमाथान्का, ओलाङ्चुङ्गोलामार्फत नेपाल–चीन व्यापार हुने गरेको छ । निजी क्षेत्र र सरकारी पक्षले नेपाल–चीन व्यापार सहज गर्ने कोशिस गरे पनि त्यो सम्भव हुनसकेको छैन ।

नेपाल–चीन व्यापारको लागि कूटनीतिक पहलमार्फत दुई देशका सम्बन्धित अधिकारीहरुबीच व्यापार सहजीकरणको विषयमा छलफल भई समस्या समाधान हुनुपर्नेमा त्यसो भने भएको पाइँदैन । नाकामा रहेका भन्सार कार्यालय, स्थानीय नेतृत्व, निजी क्षेत्रलगायतले व्यापारिक नाका सुचारु गर्न कैयौँ प्रयास गरे पनि त्यो सफल हुनसकेको पाइन्न ।

यस्तै नेपालको भारतसँगको व्यापार पनि सहज बन्नसकेको पाइँदैन । दुवै मुलुकसँग नेपालको व्यापार सयौँ वर्ष हुँदा समेत सहज हुनसकेको पाइँदैन । नेपाल–भारत व्यापारमा त झन् भारतीय एकाधिकार रहेको भान हुन्छ । पछिल्लो समय भारतले विना कारण चिया निर्यात रोकिदिएको छ । भारतका साथै अन्तर्राष्ट्रिय बजारमा सयौं वर्षदेखि बिक्री हुँदै आएको नेपाली चियालाई भारतीय पक्षले पुनः प्रयोगशालामा परीक्षण गर्ने बहानामा नेपाल–भारत व्यापारमा असहजता ल्याएको छ ।

नेपाल चिया उत्पादक संघले नेपाली चियामाथि भारतको पछिल्लो निर्णय भनेको नेपाली चियामा अवरोेध ल्याउन खोजेको आरोप समेत लगाएको छ । भारतीय पक्षले चियामा मात्र नभई अलैँची, अदुवालगायतका कृषि उपजहरुको निर्यातमा समय–समयमा अवरोध गर्दै आएको पाइन्छ । अझै २०७२ सालमा भारतले गरेको नाकाबन्दीले नेपाल–भारत व्यापार पूर्ण रुपमा बन्देज अवस्थामा पुगेको थियो । नाकाबन्दीको समयमा नेपाल–भारतको सीमा नाकाबाट दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या हुँदा व्यापारको अस्तित्व नै संकटमा परेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया