Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्नपूर्ण मार्बलद्वारा ‘स्टिमेट’ बिलका भरमा राजस्व छली

अन्नपूर्ण मार्बलद्वारा ‘स्टिमेट’ बिलका भरमा राजस्व छली


विराटनगर । अन्नपूर्ण मार्बल एन्ड सेनिटरीले पछिल्लो समयमा ‘स्टिमेट’ बिल जारी गरी व्यापक राजस्व छली गर्नेगरेको पाइएको छ । स्रोतका अनुसार विराटनगरको भृकुटीचोकमा सञ्चालन हुँदै आएको अन्नपूर्ण मार्बल एन्ड सेनिटरीले एक लाख ३७ हजार नौ सय ५३ रूपैयाँको बिलबिजक जारी नगरेकोे सार्वजनिक भएको हो ।

उक्त फर्मबाट ५३ हजार दुई सय ४४ रूपैयाँ ५० पैसाको मात्र बिलबिजक जारी गरी करिब ८४ हजार रूपैयाँको मूल्य अभिवृद्धि कर छली गर्ने प्रयास गरेको पाइएको छ । लामो समयदेखि मार्बल, टायललगायत सेनिटरीको काम गर्दै आएको अन्नपूर्ण मार्बल एन्ड सेनिटरीका सञ्चालकले ठूलो–ठूलो रकममा मूल्य अभिवृद्धि कर ठगी गरी राजस्व चुहावट गर्नेगरेको तथ्य खुलेपछि लामो समयदेखि मार्बल र टायल्समा हुँदै आएको अनधिकृत व्यापारको रहस्य पनि खुल्न पुगेको छ । उक्त फर्मलाई आन्त्रिक राजस्व कार्यालयदेखि राजस्व अनुसन्धान कार्यालय सुनसरीले पटक–पटक कारबाही गर्दा पनि सञ्चालक नसुध्रिएको कुरा जानकारहरूको भनाइ पनि सार्वजनिक भएको छ ।

अन्नपूर्ण मार्बल एन्ड सेनिटरीबाट मिस्त्रीमार्फत मार्बल र टायल्सको बिक्री गर्दा मिस्त्री कमिसन भनी रकम कट्टा गरी दिने फर्म सञ्चालकको नियतका कारण सरकारले सोचेभन्दा न्यु राजस्व बुझाएर चोरी गर्न सञ्चालक सफल भएको दाबी पनि स्रोतले गरेको छ । यसबाहेक अन्नपूर्ण मार्बलका सञ्चालकले भन्सार एजेन्टमार्फत भन्सारबाट समेत ठूलो परिमाणमा भन्सार ठगी गर्न सफल हुँदै आएको तथ्य समेत खुलेको छ ।

अन्नपूर्ण मार्बल एन्ड सेनिटरीका सञ्चालकले पछिल्लो समय जीएसटी प्रणाली लागू भएपछि पनि विराटनगर भन्सार नाका भएर न्यून रूपमा सामान आयात गर्न थालेपछि यसको रहस्य खुल्न पुगेको हो । अहिले पछिल्लो समयमा आएर विराटनगर भन्सारमा समेत भन्सार एजेन्टको पहलमा अन्नपूर्णका सञ्चालकले पटक–पटक राजस्वलाई नै प्रभाव पर्ने गरी प्रयास गरेपछि मार्बल र टायल्समा हुने अनियमितता सार्वजनिक भएको हो । जसले गर्दा अन्नपूर्ण मार्बलका सञ्चालकको विराटनगर भन्सारमा सेटिङको प्रयास असफल भएको कुरा थाहा भएको छ ।

विराटनगर भन्सार नाका भएर अन्नपूर्णले न्यून परिमाणमा मार्बल र टायल्सको आयात गरेको रहस्य पनि खुलेको छ । तर सञ्चालक मुलुकभर चलेको कोभिड १९ को महामारीबाट व्यवसायी नै चौपट भएको अवस्थामा मार्बल र टायल्सको आयात नै घटेको बहाना बनाएर राजस्व छलीबाट उम्कने प्रयास गरेपछि यसको विषयमा आन्तरिक रूपमा उक्त फर्ममाथि अनुसन्धान सुरु भएको कुरा राजस्वस्रोतले बताएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरको करदाता नम्बर ३०३३२१००६ कायम रहेको अन्नपूर्ण मार्बल एन्ड सेनिटरी फर्मको सञ्चालकमा सुनिता अग्रवालको नाममा दर्ता रहेको छ ।

आजभन्दा दुई वर्ष पहिले पनि उक्त मार्बल एन्ड सेनिटरीबाट निकै ठूलो परिमाणमा राजस्व चुहावट भएको फेला परेपछि आन्तरिक राजस्व कार्यालयबाट १० लाखभन्दा बढी जरिवाना गरी सञ्चालकलाई सचेत गरिएको कुरा थाहा भएको छ  । फर्म सञ्चालकमा सुनिता अग्रवालको नाम कानुनी रूपमा रहेको देखिए पनि मुख्य सञ्चालकमा कमल अग्रवालले अन्नपूर्ण मार्बल एन्ड सेनिटरीको काम गर्नेगरेको दाबी स्रोतको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया