Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालको वैदेशिक व्यापारमा सुधार आयात घट्दा निर्यात बढ्यो

नेपालको वैदेशिक व्यापारमा सुधार आयात घट्दा निर्यात बढ्यो


काठमाडौं, माघ १९
पछिल्लो समय नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (२०७६/०७७)को साउनदेखि पुससम्मको अवधिमा भएको बाह्य व्यापार सुधारको दिशामा गएको देखिएको हो । उक्त अवधिमा गत आव (२०७५/०७६) को सोही समयको तुलनामा भारतलगायत तेस्रो मुलुकसँगको नेपालको व्यापार अवस्थामा निर्यातमा वृद्धि भई आयातमा कमी आएको देखिएको छ ।

विभागका अनुसार चालू आवको छ महिनाको अवधिमा नेपाली व्यवसायीहरुले छ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार मूल्य बराबरको सामग्री आयात गरेका छन् । जुन गत आवको सोही समयको तुलनामा चालू आवमा चार प्रतिशतले आयातमा कमी हो । गत आवमा सात खर्ब २३ अर्ब ९३ करोड ७५ लाख १९ हजार चार सय मूल्यबराबरको सामग्री व्यापारीहरुले आयात गरेका थिए ।

चालू आवको छ महिनामा निर्यात समेत वृद्धि भएको छ । उक्त अवधिमा व्यवसायीहरुले ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार मूल्यबराबरको सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेका छन् । जुन गत आवको तुलनामा चालू आवमा २६ दशमलव १३ प्रतिशतले भएको वृद्धि हो । विभागका अनुसार गत आवको सोही समयमा ४५ अर्ब ४१ करोड २४ लाख ५९ हजार मूल्यबराबरको सामग्री निर्यात भएको थियो । चालू आवको छ महिनाको अवधिमा व्यापारघाटा छ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख ७४ हजार रहेको छ । जुन गत आवको सोही समयको तुलनामा छ दशमलव शून्य छ (६.०६) प्रतिशतले कमी हो ।

उक्त अवधिमा कुल वैदेशिक व्यापार सात खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख ७० हजार रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा दुई प्रतिशतले कमी हो । गत आवमा नेपालको तेस्रो मुलुकसँग कुल वैदेशिक व्यापार सात खर्ब ६९ अर्ब ३४ करोड ९९ लाख ७८ हजार छ सय रहेको थियो ।

आयातनिर्यातको सूचकांक हेर्दा चालू आवमा १२ दशमलव एक प्रतिशत र गत आवमा पाँच दशमलव नौ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा २३ प्रतिशतले कमी हो । यस्तै, कुल व्यापारमा निर्यातको सूचक हेर्दा गत आवमा ५ दशमलव ९ प्रतिशत रहेकोमा चालू आवमा सात दशमलव छ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा २९ दशमलव ११ प्रतिशतले वृद्धि हो ।

गत आवमा आयात सूचक ९४ प्रतिशत रहेकोमा चालू आवमा ९२ दशमलव चार प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवमा एक दशमलव ८२ प्रतिशतले कमी हो । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, भटमासको तेल, तयारी पोशाक, जुट तथा जुटका सामानहरु, अलैंची, जुस, चिया, कपडा, फलाम तथा स्टील, फेल्ट र पश्मिना सल प्रमुख रुपमा रहेको छ भने आयाततर्फ अधिकांश जस्तो मेसिनरी वस्तु तथा सवारीसाधनका पार्टपुर्जा रहेको विभागले जनाएको छ ।

यता नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बंगलादेश, फ्रान्स, जापान, इटाली, क्यानडा, अष्ट्रेलिया, स्विट्जरल्याण्ड आदि प्रमुुख रुपमा रहेका छन् भने पैठारी व्यापारमा भारत, चीन, इण्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), संयुक्त राज्य अमेरिका, क्यानडा, स्विट्जरल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड, साउदी अरेबिया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुुख रुपमा रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया