Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ मा जन्मिने छोरी अब ‘तीनलखिया’

प्रदेश २ मा जन्मिने छोरी अब ‘तीनलखिया’


जनकपुरधाम, माघ १९
प्रदेश नं. २ को सरकारले प्रदेशमा जन्मिने छोरीहरुलाई अब तीन लाखको बीमा गर्ने निर्णय गरेको छ । गत वर्ष माघ महिनादेखि जन्मिने छोरीहरुलाई एक लाखको बीमा गर्दै आएको प्रदेश सरकारले अब दुई लाख थप गरी तीन लाखको बीमा गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा नै छोरीहरुको बीमा गर्ने निर्णय गरेको जानकारी दिए । प्रभु बैंकको सहकार्यमा एक लाखको बीमालाई अब तीन लाख गरिने उनले बताए । बीमा रकमलाई तीन लाख पु-याई छोरीलाई ‘तीनलखिया’ बनाएको उनको भनाइ छ । सो रकमलाई अगामी दिनमा थप गरिँदै लगिने उनले बताए । एउटा छोरीलाई २० वर्षमा २० लाख पु-याउने आफ्नो सोच रहेको बताउँदै उनले प्रदेशमा लैंगिक विभेदलाई अन्त गर्न यसले सहयोग गर्ने बताए ।

यसका साथै उनले गत वर्ष १४ हजार साइकल बाँडेको जानकारी गराउँदै चालू आर्थिक वर्षमा प्रदेश नं. २ मा २० हजार छात्रालाई साइकल बाँड्ने बताए । यसमा संघीय सरकारले समेत अनुदान दिएको उनले जानकारी दिए । यसका साथै निकट भविष्यमा नै कक्षा एकदेखि आठसम्मका अतिविपन्न दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई लोक सेवा कक्षा देखि अन्य सुविधाको पाइलट प्रोजेक्ट संचालन गर्ने बताए । त्यसको लागि छात्रवृत्तिको रकम बैंकमार्फत उपलब्ध गराउने बताए । गत आर्थिक वर्षमा ४ हजार ३ सय ७३ जना बालिकाको बीमा भएको जानकारी गराउँदै उनले ३ हजार एक सय १८ को कागजात समेत प्रक्रियामा रहेको जानकारी दिए । अहिले ८ वटै जिल्लामा टोलीमार्फत बीमाको काम भइरहेको उनले बताए ।

बीमाका लागि रकम पहिलादेखि नै छुट्याइएको जानकारी गराउँदै राष्ट्रपतिद्वारा दिइएको ५० करोड रकम गत वर्ष खर्च हुन नसकेको उनले जानकारी दिए । यसका साथै अहिलेको जनकपुर प्रादेशिक अस्पताललाई प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत गर्ने योजना रहेको बताए । साथै बैठकले मधेश शहीद प्रतिष्ठानको समेत गठन गरेको जानकारी दिए । उक्त प्रतिष्ठानले शहीद परिवारलाई जागिरको साथै अशक्त भएकाहरुको सुविधा तथा उनीहरुको स्थायी व्यवस्थापनको काम हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया