Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडाबर नेपालले प्याकिङ गरेको च्यबनप्रासको भाँडोमा भेटियो १४५ किलो चरेस

डाबर नेपालले प्याकिङ गरेको च्यबनप्रासको भाँडोमा भेटियो १४५ किलो चरेस


काठमाडौँ । विश्वमै बिक्रीवितरणमा प्रतिबन्ध रहेको लागूऔषध चरेस ठूलोमात्रामा बरामद भएको छ । बरामद भएको चरेस बहुराष्ट्रिय कम्पनी डाबर नेपालको उत्पादन च्यबनप्रासको सिलप्याक भाँडोभित्र माथि च्यबनप्रास र तल चरेस हालिएको अवस्थामा रहेको थियो । कम्पनीले मात्र गर्नसक्ने सिलभित्र चरेस भेटिनुमा डाबर नेपालका केही अधिकारीहरुको संलग्न रहेको आशंका गरिएको छ । ३२ वटा कार्टुनमा एक सय ९२ वटा च्यबनप्रासभित्र एक सय ८५ किलो तीन सय ५० ग्राम चरेस भेटिएको छ ।

चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार कार्टुन र बट्टाबाहेक एक सय ४५ किलो चरेस बरामद भएको छ । ठूलो परिमाणमा चरेस बरामद हुँदासमेत गुपचुप राखिनुले चरेस प्याकेजिङ्गमा ठूलै गिरोहको संलग्नता रहेको आशंका गरिएको छ ।

झण्डै २३ दिनअगाडि नै उक्त मात्रामा चरेस फेला पारे पनि नेपाल प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । लामो समयसम्म गुपचुप राख्नाले उक्त चरेस तस्करीमा नाम चलेको समूह नै संलग्न रहेको अनुमान गरिएको छ । नेपाल प्रहरीले हरेक दिन देशमा भएका घट्नाहरु सार्वजनिक गर्दै प्रेस विज्ञप्ति जारी गर्ने गरे पनि करोडौं मूल्य पर्ने चरेस बरामद भएको घटना सार्वजनिक नगरिनुले डबर कम्पनी र नेपाल प्रहरीका अधिकारीको नियतमाथि प्रश्न खडा भएको हो ।

गत कात्तिक २७ गते चितवनको रत्तननगर नगरपालिकाको वडा नं. ३ लोकप्रिय टोलमा रहेको विष्णु पन्तको घरमा गोदाम बनाई राखेको अवस्थामा चरेसको कारोबार गर्ने लमजुङ दोर्दी गाउँपालिका वडा नं. ०३ का वर्ष २५ का सुजन गुरुङ र वर्ष २३ का सुजन सार्की तथा रत्ननगर नगरपालिका वडा नं. १५ का वर्ष ३२ का उद्धव अधिकारीसहित प्रहरीले ३२ वटा कार्टुनमा सो परिमाणको चरेस बरामद गरेको थियो ।

डाबर नेपालको उत्पादन रहेको च्यबनप्रासको सिलप्याक भाडोमा माथि च्यबनप्रास र तल चरेस रहेको अवस्थामा बरामद भएपछि कतै डाबर नेपालले नै यस्तो धन्दा त गर्दै छैन भन्ने आशंका केही जुनियर प्रहरी अधिकारीहरुले पनि गरेका छन् । तर, प्रहरीको माथिल्लो तहले नै घटनालाई ढाकछोप गर्ने नियतले लामो समयसम्म लुकाएर राखेको कारण जुनियर प्रहरी अधिकारीहरुको आशंकामा समेत बल मिलेको छ ।

यस विषयमा बोल्न डाबर नेपालका प्रतिनिधि अभय गोर्खालीलाई पटक–पटक आग्रहसहितको म्यासेज पठाउँदा समेत उनी यस विषयमा प्रतिक्रिया दिन तयार भएनन् । यदि यसमा डाबर नेपालका कुनै अधिकारीको संलग्नता थिएन भने उनलाई बोल्न खासै समस्या हुने थिएन ।

त्यसो त पछिल्लो समय नेपालमा ठूला उद्योगीहरुले समेत विभिन्न गैरकानुनी धन्दाहरु गरेको सार्वजनिक हुँदै आएको समयमा डाबर नेपालको सिलप्याक भाडोमा चरेस भेटिनुले थप आशंका उत्पन्न गरेको छ ।

सो चरेसलाई कारोबारीहरुले विष्णु पन्तको घरलाई गोदामका रुपमा मात्र प्रयोग गर्दै आएको बताइएको छ । गोदाम गरिएको उक्त स्थानमा अवैध चरेस लुकाइराखेको भन्ने सूचना प्राप्त भएपश्चात् टाँडीका प्रहरी प्रमुख इन्द्रबहादुर रानाको नेतृत्वमा गएको प्रहरीले बरामद गरेको थियो । चरेस बरामद भएपछि प्रहरी र डाबर नेपालका उच्च अधिकारीकहाँ जानकारी पुगेपछि त्यसलाई तत्काल सार्वजनिक नगर्ने सहमति जुटेको बताइएको छ ।

पक्राउ परेकाहरूलाई अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा राखिएको छ । यस विषयमा टाँडी प्रहरीले भने घटना अनुसन्धानकै सिलसिलामा रहेकोले थप केही कुरा बताउन नमिल्ने बतायो । चितवन प्रहरीले यस घटनालाई बाहिर ल्याउन नचाहेको हो भन्ने हाम्रो जिज्ञासामा चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीले अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने र थप आरोपित भाग्न सक्ने वा अनुसन्धान प्रक्रिया नै प्रभावित हुनसक्ने भन्दै प्रहरीले औपचारिक रूपमा जानकारी नदिएको बताए । प्रहरीले पक्राउ गरेको तीनै जनालाई जिल्ला अदालत चितवनबाट म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया