Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभानुजन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइने

भानुजन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइने


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । मन्त्री श्रेष्ठले चुँदी रम्घामा पूर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउने योजना अघि बढाएको बताए ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री श्रेष्ठले भानुजन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, संवर्द्धन र विकासका लागि सरोकारवालाहरूसँग छलफल गरी योजनाबद्ध रूपमा काम अघि बढाइने जानकारी समेत दिए । चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गर्ने जनाएको छ ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गरिने बताए । उक्त योजना सफल बनाउन आदिकवि जन्मघर शिखर कटेरीमा विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गर्न लागिएको उनको भनाइ छ । विकसित मुलुकमा प्रतिष्ठित साहित्यकारहरूको स्मृतिलाई संरक्षण गर्ने गरिएको बताउँदै अधिकारीले भानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्न पूर्णकदको सालिक बनाउन लागिएको जानकारी दिए । तनहुँमा जन्मिएको भए पनि राष्ट्रकै गौरव भएकाले आदिकवि भानुभक्तको सम्झनामा पूर्णकदको सालिक निर्माणको योजना अघि बढेको उनको भनाइ छ ।

पूर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरूको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलको रूपमा विकास हुने मन्त्री श्रेष्ठको विश्वास छ । आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घामा भएको हो । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी रामायणलाई पठनीय बनाएका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया