Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपुनर्निर्माणका बाँकी काम सरकारका नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने

पुनर्निर्माणका बाँकी काम सरकारका नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन् । नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मलेनलाई बुधबार सम्बोधन गर्दै उनले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताएका हुन् ।

यसअन्तर्गत निजी आवासहरूको काम चालू आर्थिक वर्षमा सम्पन्न गर्नेगरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको उनले जानकारी दिए । साथै विपत् व्यवस्थापनसम्बन्धी कार्यहरू विपत् व्यवस्थापन प्राधिकरणमार्फत सम्पन्न गर्ने व्यवस्था मिलाएइको उनको भनाइ छ । कार्यक्रममा उनले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका बस्तीहरूको स्थानान्तरणका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाइएको तथा बस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको जानकारी दिए ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालय स्वास्थ्य संस्था तथा सरकारी एवं सार्वजनिक ऐतिहासिक र पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुलजस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको उनले उल्लेख गरे । सफल पुननिर्माण कार्यले क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभई त्यस क्रममा कार्यसम्पादनमा नेपालको निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको उनले बताए ।

साथै राजनीतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशीलताको कारणले सफलता हात लागेको उनको भनाइ छ । उनले भूकम्पपछि भौतिक संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको र यसको कार्यकाल सन्तोषजनक रुपमा सम्पन्न भएको टिप्पणी गरे । २०७२ सालमा आएको विनाशकारी भूकम्पमा परी नौ हजारले ज्यान गुमाएका थिए भने २२ हजार घाइते भएका थिए । भूकम्पबाट १० लाखभन्दा बढी निजी घर, हजारौँ विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी संरचना र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू भत्किएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया