Techie IT
×
गृहपृष्ठसमाचारसहकारीमार्फत ऋण लगानी गरेर व्यावसायिक बन्न युवालाई सुझाव

सहकारीमार्फत ऋण लगानी गरेर व्यावसायिक बन्न युवालाई सुझाव


दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले युवाहरुलाई सहकारीमार्फत ऋण लगानी गरेर व्यावसायिक बन्न सुझाव दिएका छन् । धेरै विदेशबाट फर्केका युवाहरुले नेपालमा आफ्नै व्यवसाय सञ्चालन गर्न सुरु गरेको उल्लेख गर्दै उनले बेरोजगार बनेर बसेका युवाहरूलाई पनि सहकारीमार्फत ऋण तथा अनुदान लिएर व्यवसायमा लाग्न आग्रह गरे ।

यस्तै मुख्यमन्त्री पाण्डेले सहकारीहरुलाई पनि व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार दोलखाको मेलुङ गाउँपालिकामा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्थाको १०औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले उत्पादनमुखी व्यवसाय गर्नेलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन पनि सहकारीहरुलाई आग्रह गरे । कार्यक्रममा उनले प्रदेश सरकारले विकास निर्माणको कामलाई प्राथामिकताका साथ अगाडि बढाउने बताए । ठेकेदारको लापरबाहीका कारण अलपत्र परेका आयोजनाको काम सुरु गर्न प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ । उनले मेलुङ गाउँपालिकाको मुख्य सडक सितली–मेलुङ सडकको पिचको लागि पुस महिनाबाटै काम सुरु गर्ने प्रक्रिया अगाडि बढाउने समेत जानकारी दिए । यस्तै मुख्यमन्त्री पाण्डेले बुधबार बिहान तामाकोशी गाउँपालिका–१ भिरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारीले सञ्चालन गरेको दाना उद्योगको पनि अवलोकन गरेका थिए ।

कार्यक्रममा गाउँघर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष श्रीराज पोखरेलले सहकारीले किसानलाई विभिन्न कृषि सामग्री, मल बीउ तथा जोत्ने ट्र्याक्टरलगायतका कृषि औजार वितरण गर्दै आएको जानकारी दिए । साधारणसभामा कलाकारहरुको समेत उपस्थिति रहेको थियो । सहकारीले मेलुङ गाउँपालिकाभित्र रहेका कृषकहरुलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया