Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय क्षेत्रमा आठ खर्बको बैंकस्तरीय कारोबार

वित्तीय क्षेत्रमा आठ खर्बको बैंकस्तरीय कारोबार


काठमाडौं, माघ २०
बैंकिङ संस्थाहरुबीच हुने कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुले मात्र सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको बैंकस्तरीय कारोबार गरेका हुन् । यस अवधिमा वाणिज्य बैंकबाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरुले भने ७४ अर्ब १६ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले गरी चालू आवको पाँच महिनामा आठ खर्ब रुपैयाँभन्दा बढीको बैंकस्तरीय कारोबार गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुुसार २०७५ मंसिरमा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर एक प्रतिशत रहेकोमा २०७६ मंसिरमा एक दशमलव ६४ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ मंसिरको एक दशमलव २० प्रतिशतको तुलनामा २०७६ मंसिरमा शून्य दशमलव ७८ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ मंसिरको १० दशमलव ३० प्रतिशतको तुलनामा २०७६ मंसिरमा नौ दशमलव ४६ प्रतिशत कायम भएको छ । २०७६ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ८० प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६२ प्रतिशत र १२ दशमलव ३२ प्रतिशत रहेका थिए ।

आज १० करोडको ट्रेजरी बिक्री गरिँदै : नेपाल राष्ट्र बैंकले आज सोमबार १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति माघ २१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ वैशाख २३ गते तोकिएको छ । यसअघि यही माघ १३ गते पनि राष्ट्र बैंकले १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया