Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशबाट फर्किएकालाई पनि सीपमूलक तालिम

विदेशबाट फर्किएकालाई पनि सीपमूलक तालिम


प्रवीण राउत
काठमाडौं, माघ २०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने र विदेशबाट फर्किएका युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने भएको छ । दक्ष जनशक्ति उत्पादन गर्न तथा युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले मन्त्रालयले विदेश जान लागेका तथा विदेशमा काम गरी फर्किएका दुवै समूहलाई सीपयुक्त तालिम प्रदान गर्न लागेको हो ।

वैदेशिक रोजगार बोर्डमार्फत सञ्चालन हुने सो तालिम सरकारी र निजी दुवै संस्थामार्फत प्रदान गरिने जानकारी दिइएको छ । चालू आर्थिक वर्ष (२०७६/०७७) मा १५ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य रहेको बोर्डले तालिम सञ्चालनको लागि २५ करोड रुपैयाँ विनियोजन गरेको कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए । ‘सरकारले चालू आवका तालिम सञ्चालनको लागि २५ करोड रुपैयाँ प्रदान गरेको छ’, उनले भने, ‘सरकारी र निजी दुवै संस्थामार्फत हामीले चालू आवमा १५ हजार युवालाई तालिम प्रदान गर्ने लक्ष्य लिएको छौँ ।’ हाल भने सरकारी अर्थात् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पाँच हजार दुई सय ३० जनालाई तालिम दिइरहेको छ ।

‘हाल सीटीईभीटीले पाँच हजार दुई सय ३० जनालाई तालिम दिएको छ’, उनले भने, ‘बाँकी करिब नौदेखि दश हजार जना यु्वाहरुलाई छिटै नै निजी संस्थाहरुमार्फत तालिम दिइनेछ । हामीले प्रक्रिया अघि बढाएका छौँ, अबको एक महिनाको समयमा ती संस्थाहरुले युवाहरुलाई तालिम दिनको लागि सुरु गर्नेछ ।’

हाल बोर्डले तालिम सञ्चालन गर्न चाहने संस्थाहरुको लागि बोलपत्र आह्वान गरेको बताए । संस्थाहरुको आर्थिक र प्राविधिक पक्षबारे जानकारी लिने तयारी गरिरहेको बोर्डले जानकारी दिएको छ । बोर्डले १९ प्रकारको तालिम सञ्चालन गर्ने जनाएको छ । जसमा होटेल, ठूला भवन, कम्पनीहरुमा काम गर्नसक्ने प्राविधिक जनशक्ति तयार गर्ने बोर्डको लक्ष्य छ । बोर्डका अनुसार इलेक्ट्रिसियन, प्लम्बर, वेटर, कुक लगायतको तािलम प्रदान गर्नेछ ।

तालिम लिन चाहने युवाहरुले तालिमका लागि छनौट भएको खण्डमा करिब २२ सय रुपैयाँ तिुनपर्ने हुन्छ । तालिमलाई प्रभावकारी बनाउनको लागि बोर्डले तालिम लिन चाहने युवा छनौट भइसकेको खण्डमा तालिम शुल्कबापत २१ सय ९० रुपैयाँ लिने जनाएको छ । ‘फर्म भर्दा शुल्क लाग्दैन फर्म भरेर छनौटमा परेका युवाहरुमार्फत सो रकम लिइने हो’, उनले भने, ‘यसो गर्दा तालिम प्रभावकारी हुनुको साथै तालिममा पास भएको खण्डमा भने सो रकम स्वतः फिर्ता हुनेछ ।’

बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले तालिम लिन आउने प्रत्येक युवालाई दिनको ७५ रुपैयाँ खाजा खर्चबापत प्रदान गर्ने बताए । ‘तालिम पूर्ण रुपमा निःशुल्क हो’, उनले भने, ‘साथै युवाहरुको संख्या वृद्धि होस् भनी खाजा भत्ता समेत व्यवस्था गरेका हौँ ।’ सीप तालिम सञ्चालन गर्ने संस्थाको हकमा भने तालिम लिएका युवाहरुमध्ये ७० प्रतिशत पास अनिवार्य हुनुपर्नेछ । ‘तालिम लिएका युवाहरुलाई राष्ट्रिय सीप परीक्षण समितिले परीक्षा लिनेछ’, उनले भने, ‘सो परीक्षामा ७० प्रतिशत युवा पास हुनु आवश्यक छ । पास नभएको खण्डमा तालिम दिने संस्थाले रकम प्राप्त गर्न सक्दैनन् ।’

विदेश जाने युवाहरु मात्र नभएर विदेशबाट फर्किएका युवाहरुले समेत तालिम लिनसक्ने बोर्डले जनाएको छ । ‘हामीले विदेश जाने तयारी गरेका र विदेशबाट फर्किएका दुवै समूहलाई तालिम दिन खोजेका हौ’, उनले भने, ‘यसो गर्दा फर्किएका युवाहरु विदेश जाँदा होस् वा स्वदेशमा रहँदा नै किन नहोस् दक्ष भएर अर्थात् सीप युक्त भएर बस्नु सकून् भन्ने उद्देश्यले हो ।’

सीप युक्त जनशक्ति देश÷विदेश जुनसुकै स्थानमा रहे पनि माग हुने तथा कामको अवसर प्राप्त गर्ने हुँदा तालिम सञ्चालन गर्ने योजना अघि सरकारले अघि बढाएको बताउँदै आएको छ । गैरसरकार संस्था सुरक्षित आप्रवासन सामी परियोजनाले पनि सीपमूलक तालिम सञ्चालन गर्ने जनाएको छ । परियोजनाले विगत १० वर्षदेखि युवाहरुलाई तालिम दिँदै आएको छ । नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको सहयोगमा हेल्भाटस नेपालले सामी परियोजना सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया