Techie IT
×
गृहपृष्ठसमाचारग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो


काठमाडौँ, माघ २१
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३ सय ७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाइ इन्धनको मूल्य भने यथावत् नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिए ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । मूल्य समायोजन पश्चात भारतभन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगञ्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया