Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सार राजस्व संकलनमा कमजोर

विराटनगर भन्सार राजस्व संकलनमा कमजोर


विराटनगर, माघ २१
सरकारको कमजोर अर्थ नीतिका कारण भारतबाट व्यापारिक मालवस्तुको पैठारी र नेपालबाट पाम आयलको निकासी घटेपछि विराटनगर भन्सारको राजस्व संकलन नै खुम्चिन पुगेको छ । चालू आवको मध्यावधिसम्ममा विराटनगर भन्सारको राजस्वमा ६० प्रतिशत कमी आएको छ । चालू आवको पुस मसान्तसम्ममा २५ अर्ब ६६ करोड ८९ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएको भन्सारले १५ अर्ब ४३ करोड ५९ लाख रूपैयाँ मात्र संकलन गर्न सकेको छ । विराटनगर भन्सारमा आएका नयाँ भन्सार प्रमुख शिव भण्डारीको दुई महिने कार्यकाल नै राजस्व संकलनमा कमी भएपछि उनको असमक्षता नै मुख्य कारण भएको तर्क गर्न थालिएको छ । साथै सरकारको द्वैध अर्थ नीतिका कारणले पनि विराटनगर भन्सारको राजस्वमा कमी आएको कुरा उद्योगीको तर्क रहेको छ ।

केही समयअगाडि मात्र भारतले दुई अर्ब १० करोड रूपैयाँ लागतमा आईसीपी निर्माण गरिदिए पनि भारतमा रहेको मिरगञ्जको पुल पूर्णरूपमा निर्माण नगर्दा ७ किलोमिटरको दूरी पार गर्न मालगाडीलाई ३ दिन लाग्ने गरेको भनाइ स्थानीय उद्योगी तथा ब्यवसायीको रहेको छ । सोही कारण व्यापारीले मेची भन्सार र सुनसरी भन्सारबाट मिल्ने जति मालवस्तु पैठारी गर्न थालेको तर्क पनि व्यवसायीको छ । मिरगञ्ज पुल नबन्दासम्म निकासी र पैठारीबाट हुने समस्यालाई जतिसक्दो प्रमुख भन्सार अधिकृतबाट समस्या समाधानमा पहल हुनुपर्नेमा नभएका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले भन्सारनाका नै परिवर्तन गर्नुपर्ने बाध्यता भएको भनाइ उद्योगीको छ ।

नेपालबाट भारत निकासी हुँदै आएको पाम आयल, फलाम, तामाका तारलगायतको निर्यातमा सरकारको द्वैध नीतिका कारण ह्रास र खुद्रा मालवस्तुको पैठारीमा आएको कमीले विराटनगर भन्सारले राजस्व उठाउन नसको तर्क उद्योगीको छ । सरकारले गरेको अदूरदर्शी नीर्णयका कारण भारतबाट आयात हुने जुस तथा खाद्यपदार्थको प्रतिबन्धले पनि भन्सार राजस्वमा कमी हुँदै आएको कुरा थाहा भएको छ । सरकारले ६ महिनाभन्दा कमको ‘एक्सपायर डेट’ भएको खाद्यपदार्थ र सिन्थेटिक फलेभर भएको जुसमा रोक लगाएको छ । भारतबाट हुँदै आएको गार्मेन्टको आयात शून्य मा छ ।

भारतले मिरगञ्जमा भत्केको पुल मर्मतको नाममा वर्षौं लगाउनुभन्दा नेपाल सरकारले पहल गरेर नयाँ पुल बनाएर आवतजावत सुचारु गर्नुपर्ने तर्क उद्योगी तथा व्यवसायीको छ । यो काममा पनि नेपाल सरकार अहिलेसम्म कमजोर नै देखिएको भनाइ स्थानीय उद्योगी तथा व्यवसायीको छ । आईसीपी बने पनि मिरगञ्जको एउटा पुल नबनुनजेल आईसीपीबाट नेपाली व्यापारीले कुनै लाभ लिन नसक्ने दाबी उद्योगी तथा व्यवसायीको तर्क रहेको छ ।

विराटनगर भन्सारबाट चालू आर्थिक वर्षको (६ महिना) पुस मसान्तसम्ममा भन्सार महशुलतर्फ १० अर्ब ९६ करोड १७ लाख रूपैयाँ असुलीको लक्ष्य रहेकोमा छ अर्ब २५ करोड १५ लाख रूपैयाँ मात्र संकलन भएको छ । यस्तै मूल्य अभिवृद्धितर्फ १३ अर्ब ४० करोड ९७ लाख रूपैयाँको लक्ष्यमा आठ अर्ब १४ करोड ७७ लाख र अन्तःशुल्कतर्फ एक अर्ब २९ करोड ७४ लाखको लक्ष्यमा एक अर्ब तीन करोड ६६ लाख मात्र संकलन भएको छ । यसबाट पनि विराटनगर भन्सारका भन्सार प्रमुख शिव भण्डारीसहित भन्सारमा कार्यरत कर्मचारीतन्त्रमा व्यक्तिगत आकांक्षाका कारण राजस्वमा कमी आएको दाबी समाचारस्रोतले गरेको छ ।

गत आवको पहिलो ६ महीनाको अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा १९ अर्ब ५७ करोड ३० लाख रूपैयाँ असुल गरेको थियो । राजस्व कमी हुनुमा भन्सार प्रमुखको भन्सार सञ्चालनका लागि आवश्यक पर्ने दक्षतामा कमी भएकाले नै लक्ष्यअनुसारको राजस्व संकलन नभएको दाबी भन्सारस्रोतले गरेको छ । विराटनगर भन्सारको राजस्वमा कमी हुनुमा भारतमा रहेको मिरगञ्ज पुल एउटा बहाना मात्र भएको तर्क उद्योगीको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया