Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचरीकोटमा निर्माणाधीन बहुउद्देश्यीय भवनको काम तीव्र

चरीकोटमा निर्माणाधीन बहुउद्देश्यीय भवनको काम तीव्र


सुबास बस्नेत
दोलखा, माघ २२
भीमेश्वर नगरपालिका चरीकोट बजारको सातदोबाटो चोकमा निर्माणाधीन अवस्थामा रहेको बहुउद्देश्यीय भवन निर्माणको काम तीव्ररूपमा भइरहेको छ । भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी श्यामसुन्दर निर्माण सेवाले ६ महिनाको अवधिमा करिब ४८ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।

सार्वजनिक शौचालयसहित निर्माण हुन लागेको ५ तलाको व्यावसायिक भवन निर्माणको जिम्मा असारमा भीमेश्वर नगरपालिकाले श्यामसुन्दर निर्माण सेवालाई दिएको हो । भवन निर्माणको लागि नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत सरल ऋण रहेको छ । साथै नेपाल सरकारको ७ प्रतिशत अनुदान तथा भीमेश्वर नगरपालिकाको २ दशमलव ५ प्रतिशत अनुदानमा भवन निर्माण भइरहेको श्यामसुन्दर निर्माण सेवामा कार्यरत प्राविधिक सुवास दाहालले जानकारी दिए । भवन निर्माणका लागि तीनवटा निकायको १२ करोड ७६ लाख ३२ हजार सात सय रूपैयाँ लगानी रहेको छ ।

भवन निर्माण अवधि डेढ वर्ष रहेको छ । हालसम्म चार तलाको ढलान सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । बाँकी एक तलाको काम तीव्ररूपमा भइरहेको प्राविधिक दाहालले बताए । यस बहुउद्देश्यीय भवनमा दोलखा जिल्लाभित्रका र भीमेश्वर नगरपालिका आसपासका स्थानीय व्यवसायीहरूले कानुनीरूपमा नगरपालिकाको नियमअनुसार व्यवसाय गर्न पाउनेछन् । नगरपालिकाले अस्तव्यस्तरूपमा सडकपेटीमा कृषिलगायतका अन्य व्यापार गर्दै आएका व्यापारीहरूलाई व्यवस्थित बनाउने उद्देश्यले भवन निर्माण गर्न लागेको नगरप्रमुख भरत केसीले बताए । निर्माणाधीन अवस्था रहेको ५ तले भवनमा करिब सयभन्दा बढी व्यापारीले नियमित व्यवसाय गर्न पाउनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया