Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनएमएले राष्ट्रिय व्यवस्थापन सम्मेलन गर्ने

एनएमएले राष्ट्रिय व्यवस्थापन सम्मेलन गर्ने


काठमाडौं माघ २२
नेपालका व्यवस्थापकहरुको छाता संस्थाको रुपमा रहेको नेपाल व्यवस्थापन संघ (एनएमए)ले ३९औँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय व्यवस्थापन सम्मेलन गर्ने भएको छ । साथै संघले राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एसियाली व्यवस्थापन संघद्वारा आयोजित एसियाली नेतृत्व पुरस्कार साँझ २०२० आयोजना गर्ने भएको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

संघका प्रथम उपसभापति बमबहादुर मिश्रका अनुसार यस वर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य नारा तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ । व्यावसायिक सत्रको रुपमा रहने सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत गरिनेछन् र आवश्यक टिप्पणी र सदनको सुझावसहित पारित गरेर यसको समापन हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न हुने यो सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृश्य नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ ।

नेपाल व्यवस्थापन संघका सभापति एवम् राष्ट्रिय योजना आयोगका सदस्य इ. सुशील भट्टको सभापतित्वमा हुने संघको वार्षिक साधारणसभामा संघका महासचिव मोहनराज ओझाले संघको वार्षिक प्रगति विवरण पेश गर्नेछन् भने कोषाध्यक्ष दिलिपराज पौडेलले वित्तीय प्रतिवेदन प्रस्तुत गनेछन् । साधारणसभाले आगामी वर्षको लागि नीति, कार्यक्रम र बजेटको तर्जुमा गर्नुको साथै लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ ।

सम्मेलनको तेस्रो सत्रमा राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम रहने संघले जानकारी दिएको छ । संघले आफूमा निहित ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै संस्थाको सर्वोपरी हितमा कार्य गर्ने इमानदार, कर्तव्यनिष्ठ, उच्च नैतिक चरित्रयुक्त कुशल व्यवस्थापकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रिय व्यवस्थापन पुरस्कारले सम्मानित गर्ने परम्पराअन्तर्गत मेनेजर अफ द एयर अवार्ड, वोमन मेनेजर रिकोग्निजेसन अवार्ड, आउटस्टान्डिङ मेनेजमेन्ट अवार्ड, आउटस्टान्डिङ सिभिल सर्भिस अवार्ड वितरण गर्दै आएको छ । पुरस्कारको निमित्त निष्पक्ष ढंगबाट सत्पात्रको चयन गर्न संघले अलग्गै छनोट उपसमिति गठन गरेको थियो । सो उपसमितिले स्वतन्त्र ढंगले चयनको मापदण्ड तयार पारेर उपयुक्त व्यक्ति तथा संस्थाहरु चयन गरेको छ ।

पुरस्कृत हुने व्यक्ति तथा संस्थाहरुको नाम सोही दिन घोषणा गरिने बताइएको छ । संघको पुरस्कार तथा सम्मान सत्रको प्रमुख आतिथ्यता उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् । यस वर्षको साधारणसभाको अवसरमा सघले १९औं कार्यकारी समितिको निर्वाचनको मतदान कार्यक्रम पनि राखेको छ । संघका उपसभापति मिश्रले निर्वाचनको कार्यतालिकाअनुरुपका कामहरु भइरहेको जानकारी दिए । संघका कार्यकारी निर्देशक यादव प्रसाद पौडेलका अनुसार एसियाका राष्ट्रिय व्यवस्थापन संघहरुको छाता संगठनको रुपमा रहेको एसियाली व्यवस्थापन संघले एसियाली नेतृत्व पुरस्कार साँझको आयोजना गरी नेपालसहित यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउने विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्दै छ ।

नेपाल व्यवस्थापन संघ एसियाली व्यवस्थापन संघको एक सक्रिय सदस्यको रुपमा रहेको छ । नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हितरक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यवस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अवलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो ।

संघका महासचिव मोहनराज ओझाका अनुसार स्थापनाको ३९ वर्षको अवधिमा यो संघले राष्ट्रियस्तरमा सरकारको नीतिनिर्माणका विभिन्न तहमा सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया