Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारके होला इजरायल रोजगारी ?

के होला इजरायल रोजगारी ?


काठमाडौं । लामो समयपछि पुनः सुचारु भएको इजरायल रोजगारीको लागि सरकारले युवाहरु पठाउने अन्तिम तयारी गरेको छ । सोही क्रममा माघ ५ गते एक सय २५ जना युवाहरु इजरायल जाने भएका छन् । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सो संख्यामा युवाहरु त्यसतर्फ जानलागेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । तर पछिल्लो समय कोभिड १९ को तेस्रो लहर फैलिएसँगै यसको प्रभाव वैदेशिक रोजगारी क्षेत्रलाई पनि पर्ने सम्भावना आकलन गरिएको छ ।

यसैबीच वैदेशिक रोजगारीको क्रममा इजरायल रोजगारीमा भने कोभिडको तेस्रो लहरले हालसम्म असहज परिस्थिति नआएको विभागका निर्देशक कृष्ण प्रसाद भुसालले बताए । ‘हामीले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पदमा कार्य गर्न अनुमति प्राप्त गर्ने प्रक्रियामा रहेका सम्पूर्ण युवाहरुलाई पठाउने तयारीमा लागेका छौँ’, उनले भने, ‘पुनः सुचारु भएपछि पहिलो चरणमा भने एक सय २५ जना युवाहरु जाँदै छन् । हालसम्म कोभिडका र अन्य कुनै समस्या नआउँदा युवाहरु पठाउन बाधा अड्चन देखिएको छैन ।’

एक हजार एक सय ७५ जना युवाले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पदमा कार्य गर्न अनुमति प्राप्त गर्ने प्रक्रियामा छन् । इजरायल रोजगारीमा युवाहरु पठाउनको लागि सरकारले नै अग्रसरता लिएको कारण समस्या नआउने उनको भनाइ छ । विभागले पुनः सुचारु भएपछि इजरायलले पठाउने तयारी गरेको युवाहरुको सम्पूर्ण प्रक्रियाहरुको तयारी गरिसकेको छ ।

माघ ५ गते इजरायल जानको लागि युवाहरुलाई तयारी अवस्थामा बस्न भनेको छ । नेपाली पक्षलाई इजरायल दूतावास, कन्सुलर विभागबाट एक सय ४३ जनाको नामावली पठाएको छ । जुन विभागले प्राप्त गरेको छ ।

इजरायल जानको लागि क्रम संख्या एकदेखि एक सय २५ सम्मका कामदारहरुले आज ३ बजेभित्र हवाइ टिकट बुक गरिसक्नुपर्ने विभागले जनाएको छ । उक्त समयसीमाभित्र हवाइ टिकट बुक नगर्ने कामदारहरुको हकमा क्रम संख्या एक सय २६ देखि एक सय ४३ सम्मका कामदारहरुले पहिलो उपस्थिति हुने ‘मेरिट’को आधारमा हवाइ टिकट लिन सक्नेछन् । पहिलो उपस्थिति हुने ‘मेरिट’को आधारमा भने भोलि १० बजेसम्म मात्र टिकट बुक गर्न सक्नेछन् ।

टिकट बुक गरेका युवाहरुको भोलि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैँसेपाटी, ललितपुरमा बायोमेट्रिक गरिनेछ । पुस ३० र माघ २ गते भने पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदान गरिने विभागले जनाएको छ ।

यसरी प्रक्रियागत तयारी पूर्ण गरेको विभाग युवाहरुलाई इजरायले पठाउने तयारीमा बसेको छ । कोभिडको तेस्रो लहर आए पनि इजरायली पक्ष युवाहरु लैजाने कुरामा दृढताका साथ बसेको पाइएको छ । इजरायली पक्षले कोभिडका कारण हालसम्म युवाहरु नलग्ने तथा केही समय रोक्नेलगायतका कुनै प्रतिक्रिया नआएको कारणले गर्दा इजरायली पक्षहरु युवाहरु लैजानको लागि तयारी अवस्थामा बसेका छन् भन्न सकिने निर्देशक भुसालको भनाइ छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार पठाउने कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै नेपाल सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८’ निर्माण गरी सोहीअनुरुप नेपाली युवाका लागि इजरायल रोजगारी अघि बढाइएको हो । आकर्षक गन्तव्य मानिएको इजरायल जाँदा युवाहरुलाई आर्थिक भार परेको भन्दै सन् २००९ मा भने रोकिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया