Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रिय बीमा कम्पनीमा चौधरी ग्रुपनिकट बराललाई सीईओ बनाउन अर्थमन्त्रीमाथि दबाब

राष्ट्रिय बीमा कम्पनीमा चौधरी ग्रुपनिकट बराललाई सीईओ बनाउन अर्थमन्त्रीमाथि दबाब


काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि सर्टलिस्टमा छनौट भएका पाँच जनामध्ये चौधरी ग्रुपनिकट शेखर बराललाई सीईओ बनाउन अर्थमन्त्री जनार्दन शर्मामाथि दबाब परेको छ ।

बराल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा हुँदा ठमेलको एक रेष्टुरेन्टमा नक्कली आगो लगाएर दाबी भुक्तानी गरेको कारण विवादमा परेका व्यक्ति हुन् । सो प्रकरणमा छानबिन गर्दा दोषी पाइएपछि बीमा समितिले उनीमाथि कारबाही गरेको थियो । कारबाहीमा परेका बराल अहिले विभिन्न स्वार्थ समूहलाई आर्थिक प्रभावमा पारेर राष्ट्रिय बीमा कम्पनीको सीईओ बन्ने लाइनमा छन् ।

लेनदेनमा सीईओ हुनखोजेका बराललाई अर्थमन्त्री शर्माले सीईओ बनाउन पूर्ण सहमत त भइसकेका छैनन् तर विभिन्न स्वार्थ समूहको दबाबमा परेर राष्ट्रिय बीमा कम्पनीमा बराल नै सीईओ हुने लगभग निश्चितजस्तै भइसकेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्त गर्न गठित उपसमितिले यही पुस १६ र १७ गते पाँच जनासँग व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न लगाएको थियो । उपसमितिले सर्टलिस्टमा पाँच जनाको नाम निकाल्दा पहिलो नम्बरमा तोयराज अधिकारी, दोस्रो नम्बरमा बृद्धकाजी श्रेष्ठ, तेस्रो नम्बरमा रामबहादुर खड्का, चौथो नम्बरमा सुरेन्द्र थापा र पाँचौँ नम्बरमा शेखर खनाल छन् । योग्यता र अनुभवका आधारमा पाँचौँ नम्बरमा रहेका बराल चौधरी ग्रुपनिकट तथा नेपाली कांग्रेस सम्बद्ध व्यक्ति हुन् । राष्ट्रिय बीमा कम्पनीमा दुई जना माओवादी केन्द्र पार्टीभित्रैका मानिसहरुले आवेदन दिएका छन् । माओवादीलाई पन्छाएर विनोद चौधरीनिकट व्यक्तिलाई सीईओ बनाउने तयारी गरिएपछि माओवादीभित्रै पनि अर्थमन्त्री शर्माको बारेमा आशंका गरिएको छ ।

बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत छनौट उपसमितिले अब सीईओका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा सो नाम सिफारिस गर्नसकेको छैन । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजु देउवा तथा अर्थ मन्त्रालयमा चलखेल गर्ने केही व्यक्तिले बराललाई नै नियुक्त गर्न दबाब दिएको स्रोतको दाबी छ । बराल चौधरी ग्रुपनिकटका भएकाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विनोद चौधरीमार्फत अर्थमन्त्री र अर्थ मन्त्रालयमा चलखेल गर्दै आएका एक माओवादी युवा नेतामार्फत अर्थमन्त्री शर्मालाई दबाब दिइएको जनाइएको छ ।

छनौट उपसमितिका संयोजक अर्जुन भण्डारीलाई समेत अर्थमन्त्रीको नाममा विभिन्न ठाउँबाट दबाब आइरहेको बताइएको छ । चर्को दबाबपछि अर्थमन्त्री र सीईओ छनौट उपसमितिले निर्णय लिनसकेको छैन । अर्थमन्त्री शर्माले सूचीको अन्तिममा नाम भएका बराललाई सीईओ नियुक्त गर्न सहमत नभएपछि सो गिरोहले विज्ञापन नै रद्द गर्न दबाब दिइरहेको बुझिएको छ ।

बीमा कम्पनीमा लामो समयदेखि सीईओ नियुक्त हुन सकिरहेको छैन । सीईओ नियुक्ति नहुँदा स्थापनादेखिकै वार्षिक साधारणसभा गर्न बाँकी छ भने भवन निर्माणलगायतका कामहरु समेत रोकिएका छन् । अर्थमन्त्री शर्माले सार्वजनिक निकायहरुमा पदाधिकारी नियुक्त गर्न स्वतन्त्र र निष्पक्ष होस् भन्ने उद्देश्यले सार्वजनिक रुपमा विज्ञापनको माध्यमबाट गरिएको भए पनि अर्थमन्त्रीलाई घेरामा पारेर असफल बनाउने गिरोह अर्थ मन्त्रालयभित्रै सक्रिय भएपछि उनको कार्य समेत नतिजामुखी हुनसकेको छैन । अर्थ मन्त्रालयमा गिरोहहरुको चलखेलकै कारण विवादमा पर्दै गएका छन् । पछिल्लोपटक हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई छ अर्बको आम्दानी सुनिश्चित गर्ने निर्णय गरेको बीमा समितिका जिम्मेवार पदाधिकारीहरुलाई समेत कारबाही गर्नसकेका छैनन् ।

यसअघि उज्यालोको नायकको रुपमा परिचय बनाएका अर्थमन्त्री शर्मालाई यसपटक भने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरले उछिनेका छन् । मन्त्री आलेले अनियमितता भएका ठाउँहरुमा आफैँ उपस्थित भएर ‘एक्सन’ लिइरहेका छन् । अर्थमन्त्री शर्माको सुस्त गतिमाथि गिरोहहरुको चलखेल बढ्दै जाँदा असफल हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया