Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने


काठमाडौं । नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएपछि आह्वान भएको पहिलो वार्षिक साधारणसभा (एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

आईपीओ निष्काशनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । नर्भिक अस्पतालको हालको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पुँजीलाई बढाएर एक सय करोड पु¥याउने प्रस्ताव समेत पारित गरेको छ ।

नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/०७८ मा आठ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ । थापाथलीस्थित बीएलसी बिल्डिङमा बुधबार सम्पन्न वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए ।

महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले जानकारी दिए । उनले अस्पतालमा हालै आईभीएफ सेन्टर सञ्चालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रियस्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निष्काशनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना प्रस्तुत गरेका थिए । एजीएममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्धनिर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा सञ्चालक र सेयरधनीको सहभागिता रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया