Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएफडीआईमा ४२ प्रतिशतले वृद्धि

एफडीआईमा ४२ प्रतिशतले वृद्धि


काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता बढेको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालू आर्थिक वर्षको छ महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा ४२ प्रतिशत अर्थात् नौ अर्ब छ करोड १० लाख रुपैयाँले बढेको छ । उद्योग विभागका अनुसार आव ०७६/०७७ को छ महिनाको अवधिमा २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकोमा आव ०७७/७८ को सोही अवधिमा ३० अर्ब ६३ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्ष कोभिड १९ को संक्रमण सामान्य बन्दै गएको कारण नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरु आएको कारणले गर्दा एफडीआईमा वृद्धि भएको विभागका अधिकारीहरुले बताएका छन् ।

कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग विभागमा दर्ता हुन्छन् । सोहीअनुरुप चालू आवमा आठ हजार ३९ जनालाई रोजगारीसहित एक सय २७ वटा उद्योग दर्ता भएका छन् ।

चालू आवमा सबैभन्दा बढी सेवा र सबैभन्दा कम ऊर्जा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । सेवामा १६ अर्ब १९ करोड ७० लाख रुपैयाँ र ऊर्जामा १० करोड ६२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ । यस्तै अन्य उद्योगहरुमा पर्यटनमा नौ अर्ब ८६ करोड ३० लाख रुपैयाँ, उत्पादनमूलकमा तीन अर्ब ४२ करोड, कृषि तथा वनजन्यमा ६० करोड, सूचना प्रविधिमा ४५ करोड रुपैयाँ र ऊर्जामा १० करोड ६२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । छ प्रकारका उद्योग दर्ता भएकामध्ये सबै उद्योगहरुमा भने लगानी प्रतिबद्धता बढेको छैन । यद्यपि विदेशी लगानी निरन्तर आउने हो भने भोलिका दिनमा थप लगानी बढ्दै जाने संकेत भएको उनीहरुको भनाइ छ ।

यसैबीच गत आर्थिक वर्षमा पनि उत्साहजनक रुपमा लगानी नआए पनि लगानी आउने वातावरण भने कायमै रहेको थियो । गत आवमा तीन हजार चार सय ८० जनालाई रोजगारीसहित एक सय २३ वटा उद्योग विभागमा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटनमा र सबैभन्दा कम सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित उद्योगमा लगानी प्रतिबद्धता आएको थियो ।

पर्यटनमा १५ अर्ब १५ करोड ८५ लाख रुपैयाँ, सेवामा पाँच अर्ब १६ करोड रुपैयाँ, उत्पादनमा ४६ करोड रुपैयाँ, सूचना, सञ्चार तथा प्रसारणमा ४० करोड रुपैयाँ र कृषि तथा वनजन्यमा पनि ४० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षमा ऊर्जामा भने लगानी आउन सकेन ।

हाल लगानी प्रतिबद्धता बढे पनि कोभिड १९ को तेस्रो लहरका कारणले गर्दा लगानी प्रतिबद्धतामा असर पु-याउने विभागले जनाएको छ । सामान्य परिस्थिति बन्दै गएकोमा कोभिडको तेस्रो लहर विश्वभर फैलिएसँगै विदेशी लगानी समेत प्रभावित बन्नसक्ने विभागका अधिकारीहरुको भनाइ छ ।

छ महिनाको अवधिमा सबैभन्दा बढी चीन, फ्रान्स, भारत, इटाली, जापानलगायतका १२ मुलुकबाट लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । नेपालको औद्योगिक क्षेत्रमा सयभन्दा बढी मुलुकहरुबाट लगानी आउने गरेको पाइन्छ । तर, बढी र निरन्तर लगानी आउने भनेको चीन, भारतलगायतका मुलुक रहेको पाइन्छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला उद्योग विभागले दर्ता गर्छ । यसैबीच समग्रमा अर्थात् स्वदेशी र विदेशी लगानी उद्योगमा घटेको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया