Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय र प्रदेश सरकारसँग पनि सहकार्य’

‘सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय र प्रदेश सरकारसँग पनि सहकार्य’


काठमाडौं । संघीय सरकारले सुरक्षित वैदेशिक रोजगारीका लागि स्थानीय र प्रदेश सरकारसँग पनि सहकार्य गर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीको विषय साझा सरोकारको विषय भएकाले संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय तथा सहकार्य गर्ने बताए ।

सुरक्षित आप्रवासन (सामी) परियोजना तेस्रो चरणको प्रगति समीक्षा तथा भावी कार्ययोजनाबारे पोखरामा आयोजित छलफल कार्यक्रममा उनले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले देशको अर्थतन्त्रलाई चलायमान बनाए पनि यसका नकारात्मक पक्ष तथा चुनौतीहरु धेरै रहेको उल्लेख गरे । वैदेशिक रोजगारीका चुनौतीहरुलाई सम्बोधन गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबीच नीतिगत परिवर्तन, लागत साझेदारी, प्रभावकारी कार्यान्वयन र समस्याको दीगो समाधानको लागि समन्वय तथा सहकार्य हुनु आवश्यक रहेको उनले बताए । सरकारको प्राथमिकता आन्तरिक रोजगारीको क्षेत्र प्रवर्द्दन गर्दै बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने भए पनि वैदेशिक रोजगारको क्षेत्र व्यवस्थापन गर्नु सबैको प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषण रहित बनाउन नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुरुप सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालनमा रहेको छ । जसको नीतिगत अगुवाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ भने प्रदेश सरकारले समन्वय र अनुगमनको भूमिका निर्वाह गरिरहेको छ । साथै स्थानीय सरकारहरुको नेतृत्वमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाले चार लाख ५१ हजार जनालाई सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना प्रदान गरेको जनाइएको छ ।

यस्तै १३ हजार एक सय ७७ जनालाई निःशुल्क कानुनी सहायता दिइएको छ भने वैदेशिक रोजगारीको कारण मनोसामाजिक समस्या न्यूनीकरणका लागि २३ हजार चार सय १७ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । वित्तीय साक्षरता २१ हजार २७ जनालाई दिएको सामीले निःशुल्क सीपमूलक तालिम तीन हजार तीन सय ५१ जनालाई प्रदान गरेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया