Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसौर्य एयरलाइन्स प्रकरणमा राजस्व अनुसन्धान नै विवादित

सौर्य एयरलाइन्स प्रकरणमा राजस्व अनुसन्धान नै विवादित


काठमाडौँ । सौर्य एयरलाइन्सबाट फेला परेको अवैध ५० लाख रकमबारे छानविन गरिरहेको राजस्व अनुसन्धान विभाग नै विवादित बन्न पुगेको छ । केही समयअघि एयरलाइन्सबाट बरामद भएको उक्त रकम एयरलाइन्सका सञ्चालक एवं सुपारीका कारोबारी दिपक पोखरेलले आफ्नो कम्पनीको भएको भन्दै विभागलाई पत्र लेखेका थिए । सोही पत्रको आधारमा विभागले पोखरेललाई सफाइ दिन थालेपछि अनुसन्धान नै विवादमा परेको हो ।

एक एयरलाइन्सका सञ्चालकका अनुसार पछिल्लो समय कुनै पनि एयरलाइन्सले छ महिनासम्ममा पनि हवाइ टिकट बिक्रीबाट काउन्टरमा ५० लाख जम्मा गर्न सक्दैनन् । अहिले अत्यधिक मात्रामा अनलाइन टिकट बुकिङ हुने गरेकोले क्यास कारोबार नै हुन छाडेको उनले बताए । तर पोखरेलले अवैध रकमलाई वैध बनाउन एयरलाइन्सको सहारा लिएर राजस्व अनुसन्धानको सेटिङमै उन्मुक्ति पाउने योजना बनाएको स्रोतको दाबी छ । त्यसका लागि विभागका महानिर्देशक प्रकाश पौडेल नै सक्रिय भएका छन् ।

अवैध कारोवारमा संलग्न सौर्य एयरलाइन्सका सञ्चालक तथा सुपारी कारोबारी पोखरेललाई कारबाही प्रक्रिया अगाडि बढाउनुको साटो सरकार आफैँ नै पोखरेलाई नै फाइदा हुनेगरी सुपारी आयात कोटा खुलाउन लागेको स्रोतको दाबी छ । स्रोतका अनुसार उद्योग मन्त्रालयले पाँच अर्बको सुपारी तेस्रो मुलुकबाट आयातका लागि प्रस्ताव अघि बढाएको छ । त्यसका लागि पोखरेलले विराटनगरका सुपारी कारोबारी एवं सौर्य एयरलाइन्सकै अर्का सञ्चालक दिनेश राठीलाई आफ्नो सम्पर्कमा बस्न र गोप्यरूपमा काम अगाडि बढाउन निर्देशन दिएका छन् । पोखरेल भने राजस्व अनुसन्धानमा बयान दिएपछि बृन्दावन र हरिद्वारको तीर्थ भ्रमणमा निस्किएका छन् ।

उक्त प्रकरण मत्थर बनाउन विभाग र महानिर्देशक पौडेललाई हम्मेहम्मे परेको छ । अर्कोतिर पाँच अर्बको सुपारी आयातका लागि उद्योग विभागले सिफारिस समेत अघि बढाइसकेको र मन्त्रिपरिषद्मा लगेर चाँडै पारित गर्ने योजनामा सरकार पुगेको छ । अहिले उद्योग मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैँसँग भएका कारण पनि उक्त प्रस्ताव सहजै पास हुनेमा सुपारी कारोबारी विश्वस्त छन् । व्यापारीले प्रधानमन्त्री निवास र प्रधानमन्त्री कार्यालयबाटै सुपारीको लाइन खुलाउन दबाब दिँदै आएका छन् । अहिले त्यसको संयोजन विराटनगरका सुपारी व्यवसायी दिनेश राठीले गरेको बताइन्छ ।

औद्योगिक कच्चा पदार्थ आयात भनेर सुपारीको आयात खुलाउने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गरेका छन् । सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेरै आयात खुलाउने प्रयास समेत गरिरहेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया