Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानी आकर्षित गर्न र प्रविधि हस्तान्तरणमा सहयोग गर्न आग्रह

लगानी आकर्षित गर्न र प्रविधि हस्तान्तरणमा सहयोग गर्न आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवर्द्धन गर्न र पर्यटन प्रवर्द्धनमा जोड दिन अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसंघको कार्यालयमा भएको छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टीकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न राजदूत खत्रीसँग आग्रह गरेका हुन् ।

परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानीका लागि धेरै क्षेत्रमा सम्भावना रहेकाले त्यसको प्रवर्द्धनमा जोड दिन समेत आग्रह गरेको छ । यसैगरी नेपालमा उत्पादन हुने तयारी पोशाक, छुर्पीजस्ता वस्तुहरूको लागि अमेरिका राम्रो बजार भएकाले त्यस्ता वस्तुको प्रवर्द्धनमा पनि परिसंघले जोड दिएको छ । परिसंघका अध्यक्ष अग्रवालले नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनलागेकाले स्तरोन्नतीसँगै कटौती हुने व्यापार सुविधा पुरानै अवस्थामा कायम राख्न पहल गर्न पनि आग्रह गरे । गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नेपालको आवश्यकता भएको भन्दै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको सम्झौता संसद्बाट अनुमोदन गराइ कार्यान्वयनमा लैजानुपर्नेमा समेत जोड दिए ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको सौविध्यपूर्ण व्यापार सम्झौताअनुसार नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्दा विशेष सुविधा पाउने भएकाले अमेरिकी लगानीकर्ताका लागि ठूलो बजारसहितको लगानीको अवसर नेपाल हुने उल्लेख गरे । परिसंघले नेपालको पर्यटन प्रवर्द्धन हुने गरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको पहल गर्न पनि खत्रीसँग आग्रह गरेको छ । नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कूटनीतिको मार्फतबाट थप बलियो बनाउनुपर्ने परिसंघको धारणा रहेको छ ।

छलफलमा प्रस्तावित राजदूत खत्रीले आर्थिक मुद्दामा परिसंघसहित निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले नेपालका विशिष्टीकृत उत्पादनलाई अमेरिकी बजारसम्मको सहज पहुँचका लागि पहल गर्ने पनि उल्लेख गरे । नेपाली वस्तुलाई अमेरिकामा सुविधासहित प्रवेश गराउन आफूले पहल गर्ने उनको भनाइ छ । छलफलमा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, इनर्जी डेभलपेन्ट काउन्सिलका सभापति ज्ञानेन्द्रलाल प्रधान, आईटी काउन्सिलका सदस्य लिनो अल्हेरिङ, हस्तकला एवं तयारी पोशाक उत्पादकको समेत उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया