Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच वर्षभित्र हवाइ पूर्वाधारमा झण्डै साढे तीन खर्ब खर्च गरिंदै

पाँच वर्षभित्र हवाइ पूर्वाधारमा झण्डै साढे तीन खर्ब खर्च गरिंदै


काठमाडौं, माघ २३
सरकारले आगामी पाँच वर्षभित्र हवाइ पूर्वाधार विकासको लागि करिब साढे तीन खर्ब रुपैयाँ खर्च गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीका अनुसार हवाइ क्षेत्रको विकास तथा पूर्वाधार निर्माणको लागि पाँच वर्षको समयमा तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च गर्न लागिएको हो । ‘मुलुकभर ५४ वटा विमानस्थल छन् । तिनको विकासको लागि सो रकम खर्च गरिने हो’, उनले भने, ‘हामीले विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहण र पूर्वाधार निर्माणमा उक्त रकम खर्च गर्नेछौँ ।’

प्राधिकरणले विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहण र पूर्वाधार निर्माणको लागि पछिल्लो साढे दुई वर्षको अवधिमा ८७ अर्ब खर्च गरेको जनाएको छ । ‘हामीले पछिल्लो साढे दुई वर्षमा विमानस्थलको लागि सो रकम खर्च गरेका हौँ’, उनले भने, ‘मुलुकभर रहेका ५४ वटै विमानस्थलको लागि सो रकम खर्च गरेका छौँ । विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहणको लागि ३४ अर्ब र पूर्वाधार निर्माण तथा विकासको लागि ५३ अर्ब खर्च गरेका छौँ ।’

विमानस्थलको पूर्वाधार निर्माणको क्रममा हाल रन वेको लागि आवश्यक जग्गा अधिग्रहण र रनवे निर्माणको काम तीव्रतासाथ भएको छ भने जहाज पार्किङ, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल भवन, कार्गो भवन, ट्याक्सी पार्किङलगायतका पूर्वाधार निर्माणको कार्य पनि भइरहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै तराईका विमानस्थलहरुमा रात्रिकालीन अवतरण गर्नसक्ने गरी पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ ।

हाल मूलुकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय गरेर ५४ मध्ये ३२ वटा विमानस्थल सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । बाजुरा, भैरहवा, भरतपुर, चन्द्रगढी, दाङ, डोल्पा, जोमसन, जुम्ला, लुक्ला, नेपालगञ्ज, पोखरा, राजविराज, रारा, रुम्जाटार, साफेबगर, सिमरा, सुर्खेत, त्रिुभवन विमानस्थल गरी ३२ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । बाग्लुङ बलेवा, बैतडी, डोल्पा, डोटी, जिरी, कालिकोट, लाङटाङ, मेघौली, रोल्पा, टीकापुर लगायतको २२ वटा विमानस्थल भने सञ्चालनमा आउनसकेका छैनन् ।

अर्गभगवती र पोखरा विमानस्थल भने निर्माणको क्रममा रहेको छ । १३ वटा विमानस्थल थप गरिने विषयमा छलफल भएको पनि प्राधिकरणले जनाइएको छ । हाल भद्रपुर, विराटनगर, जनकपुर, त्रिभुवन, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलको धावनमार्गको मर्मतसम्भार अर्थात् पुनः कालोपत्र गरिएको छ । बैतडी, डोटी, साँफेबगर, लामीडाँडा, थामाखर्क, भोजपुर, डोल्पा जुफल, राजविराज विमानस्थलमा पनि कालोपत्र गरिने काम भएको छ । भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, त्रिभुवन विमानस्थलमा राति पनि विमान अवतरण गरिने व्यवस्था गरिने जनाएको छ ।

सरकारको चाहनाअनुरुप अघि बढेँ : मन्त्री भटराई :- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू सरकारको चाहनाअनुरुप अघि बढेको बताए । ‘सरकारले हवाइ, जल, सडक र रेल कनेक्टीभिटीमार्फत नेपाललाई विभिन्न मुलुकसँग जोड्ने लक्ष्यअनुरुप आफू अघि बढेको हुँ’, उनले भने, ‘विभिन्न माध्यमबाट अन्य मुलुकसँग जोडिँदा नेपालको पर्यटन क्षेत्र विकास हुनेछ । हवाइ क्षेत्रको विकाससँगै नेपाल आउने पर्यटकको संख्या वृद्धि हुनेछ ।’

त्रिभुवन विमानस्थलको चाप कम गर्न पनि निजगढ विमानस्थल निर्माणमा जोड दिएको उनले बताए । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा त्रिभुवन विमानस्थल रहेको छ जसले गर्दा आकाशमा विमान होल्ड गर्नुपर्ने अवस्था छ । त्यसको विकल्प निजगढ विमानस्थल रहेको उनको भनाइ छ ।उनले आफनो अर्जुनदृष्टि निजगढ विमानस्थलमा रहेको बताए । यस्तै गौतम बुद्ध विमानस्थल भैरहवा अबको दुईदेखि चार महिनामा निर्माण सम्पन्न हुने दाबी गरे । हिमाल, पहाडमा रहेको विमानस्थलको स्तरोन्नति गर्नु आवश्यक रहेको बताँउदै उनले तराईमा रहेका विमानस्थलहरुमा भने रात्रि उडान र अवतरण गर्न सकिने गरी विकास गरिने बताए ।

अगामी दिनमा विमानस्थल व्यावसायिक हुनुपर्ने उनको भनाइ थियो । ‘विमानस्थलले निर्माण लागत उठाउने र आत्मनिर्भर बन्नेतर्फ सोच्नुपर्छ’, उनले भने, ‘सेवासँग व्यवसाय विस्तार गरी सो कुरा सम्भव छ । अबको पाँच वर्षमा विमानस्थलको विकासमा क्रान्ति ल्याउनुपर्छ । विमानस्थलको विकास गरी भ्रमण वर्ष २०२० मा २० लाख जना पर्यटक ल्याउने भनेको छौं, त्यसमा वृद्धि गरी वार्षिक एक करोड जना पर्यटक नेपाल भित्र्याउनु पर्छ’, उनले भने, ‘विमानस्थलको लागि जग्गा अधिग्रहण तथा पूर्वाधार निर्माणको लागि प्रदेश र स्थानीय सरकारले समेत सहयोग गरेका छन् । प्रदेश सरकारले विमानस्थलको लागि आवश्यक जग्गा अधिग्रहणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।’ त्रिभुवन विमानस्थलको हकमा भने रनवे तथा ट्याक्सी स्टान्ड सुधार गर्ने, पूर्वी भागमा रहेको रिमोट पार्किङ व्यवस्थित गर्ने, क्षेत्रीय टर्मिनल भवन विस्तार गर्नेलगायतका मुख्य काम गर्ने प्राधिकरणले जनाएको छ ।

मूल्य अभिवृद्धि करसहित ४५ करोड रुपैयाँमा २०२० मा त्रिभुवन विमानस्थलको रनवे निर्माणकार्य सम्पन्न गरी रिमोट पार्किङ क्षेत्र निर्माण गरिएको छ । दक्षिण भागमा अन्तर्राष्ट्रिय विमान पार्किङ निर्माण मूल्य अभिवृद्धि करसहित ५९ करोडमा सम्पन्न गर्ने तयारी गरिएको छ । अबको पाँच वर्षमा त्रिभुवन विमानस्थलमा थप स्तरन्नति गरिने र विमानस्थलमा प्यारालाल टेक्सी वे निर्माण गरिने, ह्यांगर एप्रोन निर्माण गरिने, इन्टरनेशनल टर्मिनल भवन टि २ निर्माणलगायतको पूर्वाधार निर्माण गरिने जनाएको छ । झण्डै ६२ अर्बमा सो पूर्वाधार निर्माण गर्ने तयारी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया