Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपति धर्मशालाको सम्झौता रद्द गर्न सुझाव

पशुपति धर्मशालाको सम्झौता रद्द गर्न सुझाव


काठमाडौं । नेपाल–भारत पशुपतिमैत्री धर्मशालामा सम्झौताविपरीत काम भएकाले उक्त सम्झौता रद्द गर्न सुझाव दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले गठन गरेको नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिले सोमबार प्रतिवेदन पेस गर्दै उक्त सुझाव दिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले उक्त प्रतिवेदन पेस गरेको हो । धर्मशाला कसैलाई टेन्डर दिने भन्ने पहिले नै प्लानिङ गरी सूचना प्रकाशन गरिएको समितिको आशंका रहेको समितिका संयोजक सुवेदीले जानकारी दिए ।

‘धर्मशालाका विषयमा थुप्रै कमी कमजोरी भएका देखिएका छन्, सेटिङका आधारमा काम भएको समितिको ठहर छ, त्यसैले यो रद्द हुनुपर्छ’, समितिले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘धर्मशाला गहना पसल, गाडी शोरुम राखिएका र मनपरी मूल्य लिइँदै आएको छ । जुन सम्झौताविपरीत छ ।’

उक्त समितिमा पाँच जना सदस्य रहेका थिए । उक्त समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहेका थिए भने मन्त्रालयका लेखाका उपसचिव सदस्य रहेका थिए । उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपतिमैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरुसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया