Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थ खरिद गर्न ऋण लिने तयारी

पेट्रोलियम पदार्थ खरिद गर्न ऋण लिने तयारी


काठमाडौं । मूल्य संयोजन भन्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहने नेपाल आयल निगम ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । निगमका सह–प्रवक्ता पुस्कर कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा इण्डियन आयल कर्पोरेसनलाई भुक्तानीका लागि करिब दुई अर्ब अपुग हुने स्थिति देखिएको भन्दै ऋण आवश्यक परेको बताइएको छ ।

निगमका अनुसार अब निगमसँग सञ्चित बचतशून्यको अवस्थामा पुगेकोले इण्डियन आयल कर्पोरेसनलाई आगामी २०२२ जनवरी २३ मा गर्नुपर्ने भुक्तानीका लागि करिब दुई अर्ब रुपैयाँ अपुग हुने स्थिति देखिएको छ । यसको व्यवस्थापनको लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको छ । आउँदा दिनहरुमा केही मूल्य समायोजन गरिए पनि महिनाको करिब चार अर्ब रुपैयाँभन्दा बढी नै मासिक घाटा रहिरहने देखिएको हुँदा आगामी तीन महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरिद मूल्यअनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

त्यस्तै निगमले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुरुप निगमको आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेसनबाट गत आइतबारमा प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई १५ दिनमा करिब दुई अर्ब २४ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको बताएको छ ।

पेट्रोलमा १३ रुपैयाँ १८ पैसा प्रतिलिटर घाटा, (१५ दिनको घाटा करिब ४२.७९ करोड रुपैयाँ), डिजेल आठ रुपैयाँ ८१ पैसा प्रतिलिटर घाटा (१५ दिनको घाटा करिब ७९.९९ करोड रुपैयाँ), मट्टितेल २० रुपैयाँ ५० पैसा प्रतिलिटर घाटा (१५ दिनको नाफा करिब १.८७ करोड रुपैयाँ) र एल.पि.ग्यास छ सय ४३ रुपैयाँ १६ पैसा प्रतिसिलिण्डर घाटा (१५ दिनको घाटा करिब ११४.८६ करोड रुपैयाँ) र हवाइ इन्धन १४ रुपैयाँ ७३ पैसा प्रतिलिटर औसत नाफा (१५ दिनको नाफा करिब ११.३७ करोड) हुने बताइएको छ ।

निगमले इण्डियन आयल कर्पोरेसनबाट प्रत्येक १५ दिनमा नयाँ मूल्य प्राप्त गर्ने गरेको र चालू आर्थिक वर्षको हालसम्मको छ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको थियो । यस अवधिमा निगमले गत भदौ ७ गते, १२ गते र २४ गते गरी जम्मा तीन पटक मात्र मूल्य समायोजन गरेको थियो । यसअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्मको छ महिनाको अवधिमा निगमले अनुमानित १९ अर्ब २६ करोड रुपैयाँ घाटा व्यहोरिसकेको अवस्था छ । यदि २०२२ जनवरी १६ मा प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा थप दुई अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोरी चालू आर्थिक वर्षको माघ १७ सम्ममा २१ अर्ब ५० करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था देखिन्छ ।

निगमले हालसम्मको नोक्सानीको व्यवस्थापन निगमको बचतमा रहेको सञ्चिति मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनस लगायत अन्य प्रयोजनमा छुट्याई राखिएको रकमबाट इण्डियन आयल कर्पोरेसनलाई सम्झौताअनुरुप भुक्तानी गरी देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राखेका, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै नेपाल र भारतको स्थानीय बजारको पछिल्लो मूल्य स्थितिअनुरुप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा प्रतिलिटर पेट्रोल ३८ रुपैयाँ ३ पैसाले सस्तो, डिजेल ३१ रुपैयाँ १२ पैसाले सस्तो र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसाले नेपालतर्फ सस्तो तथा हवाइ इन्धन (आन्तरिकतर्फ)मा ३२ रुपैयाँ ९६ पैसाले भारतको कलकत्ताभन्दा नेपालतर्फ नै सस्तो रहेको समेत निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निगम घाटामा गएको भन्दै गत कात्तिक अन्तिम सातामा निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । जसअनुरुप डिजेल/मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरी क्रमशः एक सय ३६ रुपैयाँ र एक सय १९ रुपैयाँ, आन्तरिक एवम बाह्य हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी क्रमशः एक सय एक रुपैयाँ र आठ सय ९५ डलर प्रतिकिलोलिटर र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरी एक हजार पाँच सय ७५ रुपैयाँ कायम गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया