Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेञ्चुरी कमर्सियल बैंकमा रकम अपचलन प्रकरण : क्रसबोर्डर कारोबारमा नेस्टेड एकाउन्ट प्रयोग भएको तथ्य सार्वजनिक

सेञ्चुरी कमर्सियल बैंकमा रकम अपचलन प्रकरण : क्रसबोर्डर कारोबारमा नेस्टेड एकाउन्ट प्रयोग भएको तथ्य सार्वजनिक


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकमा भएको भनिएको १६ करोड रुपैयाँ अपचलन मुुद्दामा अमेरिकी डलरको कारोबारमा सबैभन्दा ठूलो वित्तीय अपराध मानिने नेष्टेड एकाउन्टको प्रयोग भएको खुलेको छ । क्रस बोर्डर कारोबारमा एउटा फाइनान्सियल इन्स्टिच्युसनले अर्को फाइनान्सियल इन्स्टिच्युसनको काम गरेको तर त्यो काम आफ्नो रेगुलेटर (नियमनकारी निकाय) लाई जानकारी नगराई गुपचुपमा कारोबार गरिएमा त्यस्तो कारोबारलाई नेष्टेड एकाउन्ट मानिन्छ । यस्तो कारोबार दुई वा दुईभन्दा बढी देशहरुका बैंकहरुसँगको कारोबारमा हुने गरेको छ ।

‘यस्तो कारोबार अहिले सेञ्चुरी कमर्सियल बैंक र सेञ्चुरीको करेक्सपोन्डेड बैंक, मसरिक बैंक नेपाल च्याप्टरबीच भएको छ, यसरी भएको कारोबारको जानकारी दुबईको मसरिक बैंकलाई छैन । यस अर्थमा पनि मौरिससमा दर्ता रहेको कम्पनी एमएण्डएम रेमिटसँगको कारोबारमा सेञ्चुरी कमर्सियल बैंक र उक्त बैंकको करेन्सपोन्डेड बैंक मसरिक बैंक नेपाल च्याप्टरको कारोबारमा नेस्टेड एकाउन्टको प्रयोग भएको हो’, स्रोतले भनेको छ, ‘संसारमा जति पनि अमेरिकी डलरको कारोबार हुन्छ, जति पनि देशमा अमेरिकी डलरको कारोबार हुन्छ, अन्तमा त्यो ठोकिने भनेको न्युयोर्क नै हो । अमेरिकी डलर प्रयोगसम्बन्धी कानुनअनुसार डलर प्रयोगमा जसले जहाँ बसेर डलरको कारोबारमा जसरी अनियमितता गरे पनि त्यो अमेरिकी कानुनको दायरामा आउँछ, डलर अपचलन गरेबापत उसले आर्थिक जरिवाना तिर्नुपर्छ ।’

अमेरिकी डलर कारोबारमा जति पनि समस्याहरु देखिन्छन्, त्यसलाई निराकरण गर्न अपचलन गर्नेलाई आर्थिक जरिवाना लगाउने काम न्युयोेर्क स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसेजले गर्ने गरेको छ । डलर कारोबारमा कैफियत देखिएकै आधारमा न्युयोर्क स्टेट डिपार्टमेन्टले मसरिक बैंक दुबईलाई सन् २०१८ मा ४० मिलियन डलर जरिवाना तिराइसकेको छ । अहिले सेञ्चुरी र एमएम रेमिटबीचको कारोबारमा मसरिक बैंकको भूमिका रहेको छ । किनकि सेञ्चुरीको करेस्पोन्डेड बैंक नै मसरिक बैंक हो । सेञ्चुरीको क्रसबोर्डर कारोबार मसरिक बैंकमार्फत हुने गरेको छ । ‘सेञ्चुरी कमर्सियल बैंकले फण्ड ट्रान्सफर गर्नको लागि मसरिक बैंकको खाता र एमएम रेमिटलाई प्रयोग ग-यो तर सेञ्चुरी बैंकले काम भने अनधिकृतरुपमा ग्यालेक्सी रेमिटको ग-यो, त्यही भएर पनि सेञ्चुरीको कारोबारमा नेस्टेट एकाउन्ट प्रयोग भएको देखिएको हो’, स्रोतले भनेको छ ।

बैंक होस् वा रेमिट्यान्स कम्पनी, आधिकारिकरुपमा कारोबार गर्नको लागि कारोबारमा संलग्न कम्पनीहरुबीच पारस्परिक कारोबारसम्बन्धी सम्झौता भएको हुनुपर्छ । तर सेञ्चुरीले आफ्नै बैंकका पूर्वसञ्चालक, कर्मचारी तथा पूर्वकर्मचारीहरु राजेश श्रेष्ठ, जीवन कुमार भट्टराई, रमेश कुमार श्रेष्ठ आदिको नाउँमा खडा गरिएको ग्यालेक्सी रेमिटसँग अनधिकृतरुपमा कारोबार गरिरहेको थियो । ग्यालेक्सीसँगको सेञ्चुरीको कारोबारमा सेञ्चुरीको आधिकारिक इमेल प्रयोग गरिए पनि यो कारोबार सेञ्चुरीको सिस्टममा देखिएको छैन, जुन कारोबारमा मसरिक बैंकको खाता प्रयोग भएको छ ।

यो विषयमा मसरिक बैंक नेपालकी प्रमुख हेमा अधिकारीले भने सेञ्चुरी, ग्यालेक्सी र एमएम रेमिटबीचको कारोबारमा मसरिकको कुनै भूमिका र संलग्नता नरहेको यसअघि नै बताइसकेकी छिन् । ‘यदि हुन्थ्यो भने नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले मसरिकलाई पनि पत्र काट्न सक्थ्यो’, उनले केही समयअघि आर्थिक दैनिकका प्रतिनिधिसँग भनेकी थिइन् । यसअघि मसरिक बैंक दुबईलाई न्युयोर्क स्टेट डिर्पाटमेन्टले ४० मिलियन डलर जरिवाना तिराएको रहेछ नि भन्ने प्रश्नमा भने अधिकारीले त्यो संस्थाको काम नै जरिवाना लगाउने भएको र त्यो अर्कै केसमा भएको बताएकी थिइन् ।

सेञ्चुरी कमर्सियल बैंक, ग्यालेक्सी रेमिट र एमएम रेमिटबीचको विवाद के हो ? सेञ्चुरी कमर्सियल बैंक र मौरिससमा दर्ता कायम रहेको एमएन्डएम रेमिटबीच रेमिट्यान्स कारोबारको लागि आधिकारिक सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम दुवै कम्पनीहरुले रेमिट्यान्स कारोबार गर्दै आएका थिए । पछि सेञ्चुरीले हङकङमा रहेको ग्यालेक्सी रेमिट्यान्स कम्पनीलाई चिनाएको थियो । ग्यालेक्सी रेमिट्यान्स सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवन कुमार भट्टराई, रमेश कुमार श्रेष्ठ र राजेश श्रेष्ठको संलग्नता खुलेको कम्पनी हो । यी दुई व्यक्तिहरु सेञ्चुरीकै तत्कालीन प्रमुख कार्यकारी र सञ्चालक हुन् । सेञ्चुरी कमर्सियल बैंकले आधिकारिकरुपमा नै एमएम रेमिटसँगको कारोबार गर्दै आएको थियो । सोहीअनुरुप कारोबार गर्दै जाँँदा एमएण्डएम रेमिटले हङकङको ग्यालेक्सी रेमिटसँग १६ करोड रुपैयाँ लिनुुपर्ने देखियो भने एमएम रेमिटले सेञ्चुरी कमर्सियल बैंकलाई छ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने देखियो ।

Open photo

सो अनुरुप सेञ्चुरीले एमएम रेमिटलाई छ करोड रुपैयाँ तिर भनेर ताकेता ग-यो । सोपश्चात् एमएण्डएम रेमिटका अध्यक्ष सुमन पन्तले एमएम रेमिटले ग्यालेक्सी रेमिट्यान्ससँग सेञ्चुरीले नै भनेको आधारमा कारोबार गरेको र ग्यालेक्सीसँगै उल्टै आफ्नो कम्पनीले १६ करोड रुपैयाँ लिनुपर्ने दायित्व देखिएको जवाफ पठाएका थिए । तर सेञ्चुरी कमर्सियल बैंकको वर्तमान व्यवस्थापनले भने ग्यालेक्सी र एमएम रेमिटबीचको कारोबार बैंकको पुरानो व्यवस्थापन र पुरानो सञ्चालकले गरेको र त्यो कारोबार उनीहरुको नितान्त व्यक्तिगत रहेको भन्दै त्यो समस्या समाधान गर्ने दायित्व पनि पुरानै सञ्चालक र व्यवस्थापनको भएकाले बैंकको वर्तमान सञ्चालक तथा व्यवस्थापनले उक्त कारोबारको दायित्व नबोक्ने भन्दै पन्छिँदै आएको एमएम रेमिटका अध्यक्ष पन्तले पन्तको भनाइ छ ।

सो विषयमा एमएम रेमिटका अध्यक्ष पन्तले भने सेञ्चुरीले एमएण्डएम रेमिटसँग आधिकारिकरुपमा सम्झौता गरेपश्चात् नै कारोबार गरेको र अहिले त्यो कारोबार आफ्नो होइन भन्न कसरी पाउँछ ? बैंक, बैंक नै हो, सम्झौता सम्झौता नै हो, बैंकका आधिकारिक व्यक्तिले सम्झौता गरेपछि त्यो पुरानो व्यवस्थापनले गरेको काम हो, नयाँ व्यवस्थापनले यसको जिम्मा लिंदैन भनेर कसरी भन्न पाउँछ ? उनले प्रतिप्रश्न गरेका थिए ।

यसकारण बनाइएको थियो श्रेष्ठलाई सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी : सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त गरिएको छ । सेञ्चुरी बैंकले आफ्नो सहायक कम्पनी सेञ्चुरी क्यापिटल माकेर्ट्स लिमिटेडमा यही माघ २ गतेदेखि नै कार्यान्वयनमा आउने गरी श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

Open photo

श्रेष्ठ यसअघि सेञ्चुरी बैंकको प्रमुख बजार अधिकृतका रूपमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेको भनिएको व्यक्तिलाई सेञ्चुरीले मर्चेन्ट बैंकको सीईओ बनाएर लगेको छ । तर यसरी प्रमुख कार्यकारी बनाएर लैजानुको भित्री कथा भने बेग्लै छ । सेञ्चुरी बैंकमा बजार व्यवस्थापन प्रमुखको रुपमा काम गर्ने श्रेष्ठ तिनै व्यक्ति हुुन् जसको प्रमुख भूमिका ग्यालेक्सी रेमिटमा पनि छ । एमएम रेमिटसँगको कारोबारमा श्रेष्ठ जोडिएका थिए, विवादित भएकै कारण श्रेष्ठलाई बैंकमा राख्नुभन्दा अर्को संस्थामा प्रमुख कार्यकारी बनाएर पठाउनु उपयुक्त देखिएकै आधारमा श्रेष्ठलाई सेञ्चुरी क्यापिटलमा पठाइएको दाबी स्रोतले गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया