Techie IT
×
गृहपृष्ठbreakingबागमती प्रदेशका औद्योगिक क्षेत्रमा कर्जा प्रवाह २५.७ प्रतिशतले वृद्धि

बागमती प्रदेशका औद्योगिक क्षेत्रमा कर्जा प्रवाह २५.७ प्रतिशतले वृद्धि

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७.७ प्रतिशत, कर्जा प्रवाह सबैभन्दा बढी काठमाडौं जिल्लामा र सबैभन्दा कम रसुवा जिल्लामा क्रमशः ८६ र ०.१ प्रतिशत


काठमाडौं । बागमती प्रदेशका औद्योगिक क्षेत्रमा कर्जा प्रवाह २५ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले बागमती प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २५ दशमलव सात प्रतिशतले वृद्धि भई आठ खर्ब ९६ अर्ब ४२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्ममा उक्त कर्जा प्रवाह २२ दशमवल आठ प्रतिशतले वृद्धि भई सात खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७ दशमलव सात प्रतिशत छ । औद्योगिक कर्जामध्ये काठमाडौंमा जिल्लामा सबैभन्दा बढी सात खर्ब ७१ अर्ब छ करोड रुपैयाँ (८६ प्रतिशत) कर्जा लगानीमा छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४६ करोड कर्जा (०.१) प्रतिशत लगानी रहेको छ ।

यस्तै त्यसपछि क्रमशः सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह ललितपुरमा ४१ अर्ब ५५ करोड १७ लाख रुपैयाँ, चितवनमा ३२ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ, भक्तपुरमा १३ अर्ब २८ करोड एक लाख रुपैयाँ, मकवानपुरमा १२ अर्ब ८७ करोड १३ लाख रुपैयाँ, काभ्रेपलाञ्चोकमा नौ अर्ब २७ करोड ७४ लाख रुपैयाँ प्रवाह भएको छ । त्यस्तै औद्योगिक कर्जा प्रवाह धादिङमा पाँच अर्ब ३० करोड ३७ लाख रुपैयाँ, नुवाकोटमा दुई अर्ब ९६ करोड ८५ लाख रुपैयाँ, सिन्धुलीमा दुई अर्ब ४४ करोड ६९ लाख रुपैयाँ, दोलखामा दुई अर्ब एक करोड २६ लाख रुपैयाँ, रामेछापमा एक अर्ब १२ करोड १० लाख रुपैयाँ र सिन्धुपाल्चोक एक अर्ब ४१ करोड १६ लाख रुपैयाँ भएको छ ।

कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४१ दशमलव एक प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम खानी उत्पादनसम्बन्धी उद्योगमा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यसैगरी विद्युत्, ग्यास तथा पानीमा ३२ दशमलव पाँच प्रतिशतले, कृषि वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा ३७ दशमलव सात प्रतिशतले, निर्माणमा १९ दशमलव एक प्रतिशतले र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा २० दशमलव आठ प्रतिशतले कर्जा बढेको छ ।

कर्जा प्रवाह बढे पनि बागमती प्रदेशका १३ वटा जिल्लामा औद्योगिक क्षेत्रका विकासका लागि औद्योगिक सीप विकास, पूर्वाधार, जोखिम, विद्युत् आपूर्तिलगायतका विषयमा चुनौती रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार औद्योगिक सीप विकास तालिममार्फत उद्योग क्षेत्रमा कार्यरत श्रमिकको क्षमता अभिवृद्धि गर्नु र औद्योगिक श्रम सम्वन्धमा सुधार ल्याई औद्योगिक क्षेत्रमा गैर–व्यवसायिक जोखिम कम गर्नु, लागत तथा गुणस्तर व्यवस्थापन गर्दै आयातित वस्तुसँग औद्योगिक उत्पादनलाई प्रतिस्पर्धी बनाउनु, उद्योग तथा व्यवसाय स्थापना गर्दाको स्थिर लागतमा कमी ल्याउन जमिनको मूल्यमा स्थायित्व ल्याउनु, विशेष आर्थिक क्षेत्र, निर्यात प्रशोधन केन्द्र र औद्योगिक क्षेत्रमा पूर्वाधार विकास गरी उद्योगहरुलाई सो क्षेत्रमा सञ्चालन गर्न प्रोत्साहित गर्नु, उद्योगसम्म सडक तथा बाटोको पहुँच, कृषि उत्पादनलाई उद्योगसँग जोड्नु र उद्योगलाई सस्तो मूल्यमा नियमित विद्युत् उपलब्ध गराउन, पूर्वाधार निर्माण गरी प्रत्यक्ष विदेशी लगानी आर्कषण गर्नु र कोभिड १९ संक्रमणको कारण सिर्जना भएको माग तथा आपूर्तिबीचको असन्तुलनलाई न्यूनीकरण गरी सन्तुलन कायम गर्नु बागमती प्रदेशका औद्योगिक क्षेत्रको लागि चुनौती बनेको छ ।

१३ वटा जिल्लामा औद्योगिक क्षेत्रको विकासको सम्भावना पनि कायमै रहेको राष्ट्र बैंकले जनाएको छ । ती जिल्लाहरुका उद्योगमा प्रसारणलाइन र सबस्टेसन निर्माण गरी पर्याप्त विद्युत दिई उद्योगको उत्पादन बढाउने, ठूला उद्योगहरुले प्रारम्भिक सार्वजनिक निष्काशन –आईपीओ)मार्फत पुँजी वृद्धि गरी थप उत्पादन बढाउने, फोहोर बढी हुने हुँदा कुहिनेबाट जैविक मल निर्माण तथा नकुहिने फोहोरबाट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउने, बजारीकरणको सम्भावना उच्च रहेको बताइएको छ । त्यस्तै उद्योग विकास र विस्तार गरी रोजगारी वृद्धि गर्ने, सहुलियतपूर्ण ऊर्जा आपूर्तिमार्फत उद्योगको लागत कम गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका जिल्लामा ढुँगा, बालुवा, गिटी उत्खनन गर्न सकिने सम्भावना छ ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया