Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोलमरिच आयातमा सक्रिय ट्रेडिङ कारोबारी

गोलमरिच आयातमा सक्रिय ट्रेडिङ कारोबारी


विराटनगर । मसला उत्पादन गर्दै आएका उद्योगीले आफ्नो मागअनुसारको मरिच आयातमा सरकारले कडाइ गरेपछि पछिल्लो समय ट्रेडिङको कारोबार गर्दै आएका व्यवसायीले गैरभन्सार नाका भएर विराटनगर बजारमा मरिच भित्र्याउन थालेका छन् ।

विराटनगरमा लामो समयदेखि सुपारीको कारोबारमा संलग्न रहेका व्यापारीहरू नै अहिले मरिचको व्यापारमा लागेका छन् । विगतमा विदेशी सुपारी आयात गरी नेपाली सुपारीको पहिरन लगाएर भारत निकासी गर्दै आएका व्यापारीहरू नै अहिले मरिचको नयाँ धन्दामा संलग्न हुन थालेका हुन् । यता मसला उद्योगीहरू भने मसला उत्पादन गर्दा आवश्यक पर्ने कच्चापदार्थ भन्दै मरिच आयात गर्न सरकारसँग कोटा माग गरिरहेका छन् । तर सरकारले मसला उद्योगलाई मसला उत्पादन गर्न अति आवश्यक भएको मरिच आयात खुलाउन कुनै पहल नगरेका कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

मसला उद्योगीहरू यतिबेला ट्रेडिङ कारोबारीबाट मनलाग्दी मूल्य तिर्नुपर्ने अवस्थामा छन् । विशेषगरी तेस्रो मुलुक भियतनाम, दुवई र सिंगापुर मरिच आयातको लागि नेपाली व्यवसायीको उद्गमस्थलको रूपमा प्रयोग हुनेगरेको छ । अगाडिदेखि नै आयात गरी नेपाल ल्याइएको मरिच पनि भारत हुँदै नेपाल आयात हुनेगरेको थियो । उक्त आयातीत मरिचलाई नै केही मरिच व्यवसायीले आफूले भनेको मूल्य नदिएपछि पछिल्लो समय नेपाली पहिरन लगाएर पुनः भारततर्फ नै निर्यात गर्नेगरेका छन् । केही समययतादेखि भारतीय र नेपाली बजारमा मरिचको माग उच्च भएकाले नेपालका ट्रेडिङ व्यापारीहरू मरिचको व्यापारमा संलग्न भएको स्रोतको दाबी छ ।

सुपारी आयातमा सरकारले पूर्ण प्रतिबन्ध लगाएपछि तिलमिलाएका सुपारी कारोबारीहरू अहिले गोल मरिच आयतमा सक्रिय भएर लागेका हुन् । विराटनगरमा ट्रेडिङको कारोबारमा संलग्न मुख्य व्यवसायीहरू शंकरलाल अग्रवाल, दिनेश राठी, खेमचन्द लालवानी, हेमकरण (हेमराज) दुगढलगायत रहेका छन् । सरकारले अहिले मरिच आयातमा कडाइ गरेसँगै मरिच आयातको नयाँ धन्दा सार्वजनिक हुन पुगेको हो । नेपालका मसला उद्योगका सञ्चालकहरू भने मसला उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्ने मरिच आयात खोल्नुपर्ने भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लबिङ गर्न थालेका छन् । उक्त कामका लागि पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री एवं उद्योगी मोतीलाल दुगढ सक्रिय भएर लागेका छन् । गत आर्थिक वर्षमा विराटनगर भन्सार नाका प्रयोग गरेर छ महिनामा आठ सय १२ टन मरिच आयात भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया