Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभिजिट भिसामा मानवतस्करी : पुष्पराज शाहीमाथि किन हुँदैन कारबाही ?

भिजिट भिसामा मानवतस्करी : पुष्पराज शाहीमाथि किन हुँदैन कारबाही ?


काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसाको नाममा खाडी मुलुकहरुमा पुगेका नेपालीहरु अत्यधिक मात्रामा बिचल्ली हुने त्रास बढेको भन्दै भिजिट भिसामै रोक लगाएको छ । खासगरी मानव तस्करहरुले विमानस्थलका उच्च तहका कर्मचारीलाई आर्थिक प्रभावमा पारेर सहजै नेपाली भिजिट भिसाको नाममा मानवतस्करी गरिरहेका छन् । खुलमखुल्ला मानव तस्करी गर्न सघाउने विमानस्थलस्थित अध्यागमन विभागका कर्मचारीलाई भने सरकारले केही कारबाही गर्नसकेको छैन ।

पछिल्लो समय नेपालबाट भिजिट भिसामा दुवई पुगेर बिचल्ली हुनेहरुको संख्या अत्यधिक छ । उनीहरुलाई दलालहरुले आकर्षक तलबको प्रलोभन देखाएर दुवई पु¥याएर बिचल्ली बनाइरहेका छन् । मानवतस्करीमा गैरआवासीय नेपाली संघ युएईका पूर्वअध्यक्ष रमेश श्रेष्ठ पनि मुछिएका छन् । उनले नेपालबाट युवाहरुलाई अमेरिका पु-याइदिन्छु भन्दै दुवई पु-याएर बिचल्ली बनाएको पाइएको छ । त्यस्तै काठमाडौंमा म्यानपावर कम्पनी सञ्चालन गरी दुवईमा बस्ने त्रिनेत्र म्यानेजमेन्ट नामक कम्पनीका सञ्चालन कोमलराज प्याकुरेलले पनि अवैध रुपमा सयौँ नेपालीलाई भिजिट भिसामा दुवई पु-याएर बिचल्ली बनाएका छन् । उनीद्वारा ठगिएकाहरु कतिपय नेपाल फर्किएर कानुनी कारबाहीको तयारीमा छन् ।

रोजगारीको लागि नभई भिजिट भिसामै (घुम्नकै) लागि दुवई जानलागेका नेपाली भने धमाधम रोकिएका छन् । केही दिनअघि एक महिला आफ्नो श्रीमान्को उपचारको लागि भनेर दुवई जान लाग्दा समेत विमानस्थलका कर्मचारीले फिर्ता गरिदिए । तर, घाँटीमा खादा माला लगाएर भिजिट भिसाको नाममा आठ लाख रुपैयाँसम्म दलाललाई बुझाएर रोजगारीका लागि दुवई जानलागेका यात्रुहरुलाई भने विमानस्थलस्थित अध्यागमनका कर्मचारीले सहजै प्रवेश गराइरहेका छन् । दलालहरुले विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई सेटिङ गर्नुपर्छ भन्दै भिजिट भिसामा रोजगारीमा जाने युवाबाट प्रतिव्यक्ति ७० हजार छुट्टै असुली गर्दै आएका छन् । त्यसरी उठाइएको पैसा विमानस्थलस्थित अध्यागमन विभागका प्रमुख पुष्पराज शाहीसम्म पुग्ने गरेको उच्च स्रोतको दाबी छ ।

सरकारले भिजिट भिसामा भइरहेको मानव तस्करीबारे छानबिन थालेपछि केही दिनअघि विदामा बसेको भन्दै शाही एकाएक सम्पर्कविहीन भए । शाही मंगलबार बेलुकीदेखि शुक्रबारसम्म एकाएक सम्पर्कविहीन भएका थिए भने उनले प्रयोग गर्ने ९८५११…१० नम्बरको मोबाइलमा समेत सम्पर्क भएको थिएन । विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई शुक्रबार सम्पर्क गर्दा शाही काठमाडौं बाहिर गएको बताए । तर, विमानस्थलकै सूचना अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सम्पर्क गर्दा उनले सरलाई ल्याण्डलाइनमै फोन गर्दा फोन उठ्नुपर्ने बताइन् । ‘म त बिरामी भएर कोठामै छु । उहाँको फोन उठ्नुपर्ने हो । ल्याण्डलाइनमा गर्नुस्’, उनले भनिन्, ‘सर अफिस आउनुभएको नभएको मलाई थाहा भएन ।

तर, अध्यागमन विभागका प्रमुख महानिर्देशक नारायण भट्टराईलाई सम्पर्क गर्दा शाही विदामा भएको र शाहीले गौतमलाई नै कार्यवाहक जिम्मेवारी दिएको बताए । ‘उहाँ विदामा हुनुहुन्छ । लक्ष्मी पाण्डे भन्ने म्याडम हुनुहुन्छ । शाहीजीले निमित्त दिएको उहाँलाई हो । लक्ष्मीजीलाई मैले जिम्मा लगाएको छु भन्नुभएको थियो’, उनले भने, ‘त्यो उहाँहरुलाई नै थाहा होला ।’

मंगलबार बेलुकीदेखि सम्पर्कविहीन रहेका शाही शनिबार बेलुका सम्पर्कमा आएसँगै आफूलाई प्रहरीले पक्राउ परेको हल्ला फैलिएको बताए । दलालहरुले नै आफैँ पक्राउ परेको हल्ला फैलाएको उनको दाबी थियो । ‘मेरो बुबालाई प्यारालाइसिस थियो । म मंगलबार बेलुकाको बुद्ध एयरमार्फत सुर्खेत गएको थिएँ । फोन लाग्ने थिएन । र शनिबार बिहान १० बजे श्री एयरको जहाजमार्फत काठमाडौं आइपुगेको हुँ’, एयरपोर्ट अध्यागमनका प्रमुख समेत रहेका शाहीले भने,

‘दलालको काम नै यस्तो हल्ला फैलाउने हो, मैले विदा मागेर गएको भए पनि हराएको हल्लापछि म कहाँ गयो भनेर गृहबाट पनि सोधीखोजी भएको थियो ।’
कतिपयले शाहीलाई मानव बेचबिखन ब्युरोले पक्राउ गरेको दाबी गरेका छन् । तर, ब्युरोका कुनै अधिकारीले यस विषयमा केही खुलाएका छैनन् । कतिपयले त उनको स्थानमा अर्को व्यक्ति खडा गरेर उनी रिहा भएको दाबी समेत गरेका छन् । तर, पुष्टि भने भएको छैन । ‘सहसचिवस्तरको कर्मचारीलाई पक्राउ नै गरिएको भए पनि गोप्य राखिन्छ । कुनै पनि निकायले बयान त लिन सक्छ’, मानव बेचबिखन ब्युरोका एक प्रहरी अधिकारी भन्छन्, ‘ब्युरोको सबै गतिविधि थाहा हुँदैन तर पछिल्लो समय भिजिट भिसाको नाममा मानव तस्करी बढेको छ ।’ तर शाही भने आफूले सीडीओको तयारी कक्षा समेत लिने गरेको हुँदा बिहानदेखि दिउँसोसम्म अनलाइन कक्षा हुने हुँदा आफ्नो फोन सम्पर्क हुन नसकेको बताउँछन् ।

स्रोतका अनुसार उनीमाथि भिजिट भिसामा मानवतस्करी गरेको अभियोगमा सरकारले नै छानबिन थालेको छ । उनी मंगलबार बेलुकीदेखि सम्पर्कविहीन थिए । सरकारले शुक्रबार नै विज्ञप्ति निकालेर भिजिट भिसामा खाडी मुलुक पुगेका नेपाली बिचल्ली परेको भन्दै भिजिट भिसामा रोक लगाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया