Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयातित कच्चा पदार्थमा निर्भर नेपालको निर्यात व्यापार ९५ प्रतिशतले वृद्धि

आयातित कच्चा पदार्थमा निर्भर नेपालको निर्यात व्यापार ९५ प्रतिशतले वृद्धि

चिनियाँ नाका ठप्प हुँदा नेपालको व्यापार एकतर्फी


काठमाडौं । मुलुकको निर्यात व्यापार ९५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मुलुकको निर्यात व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशत अर्थात् एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँले वृद्धि भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा निर्यात व्यापार ६० अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

अर्धवार्षिक अवधिमा निर्यातमा वृद्धि भए पनि मुलुकको व्यापार भरपर्दो नभएको जानकारहरु बताउँछन् । उनीहरु कच्चापदार्थ आयात गरेर मुलुकको निर्यात व्यापार वृद्धि हुनु राम्रो नहुने बताउँछन् । लेखा समिति सदस्यहरुले समेत विदेशबाट कच्चा पदार्थ ल्याई भटमासको तेल, पाम तेल लगायतको निर्यात व्यापारले मुलुकको व्यापार स्थिति राम्रो नहुने बताएका थिए । पुस अन्तिम साता बसेको देशको वर्तमान आर्थिक अवस्था विषयमा छलफलको क्रममा अर्थ मन्त्रालयका सचिव र राष्ट्र बैंकका गभर्नरसामु उक्त कुरा सदस्यहरुले राखेका हुन् ।

निर्यात व्यापार वृद्धि हुनुमा उनीहरुले भनेजस्तै तेस्रो मुलुकबाट भटमास, पामलगायतका कच्चा पदार्थ ल्याई त्यसलाई प्रशोधन गरी निर्यात गर्ने गरेको पाइन्छ । जसले नेपालको निर्यात व्यापार धानेको समेत पाइन्छ । चालू वर्षको अर्धवार्षिक अवधिमा प्रमुख निर्यातजन्य सामग्रीमा भटमासको तेल, प्रशोधित पाम तेल, यार्नलगायतका सामग्री रहेका छन् ।

विभागका अनुसार अर्धवार्षिक अवधिमा प्रशोधित भटमासको तेल ३४ अर्ब २६ करोड ९९ लाख रुपैयाँ, प्रशोधित पाम तेल (न्यून कच्चा पदार्थसहित) ३१ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ, यार्न पाँच अर्ब ६५ करोड ५४ लाख रुपैयाँ, कपडा चार अर्ब ६७ करोड ६१ लाख रुपैयाँ, कार्पेट (गलैँचा) चार अर्ब ३९ करोड ७८ लाख रुपैयाँ, जुटबाट बुनिएको कपडा तीन अर्ब २७ करोड छ लाख रुपैयाँ, अलैँची दुई अर्ब २८ करोड ७२ लाख रुपैयाँ र पस्मिना सल एक अर्ब ५६ करोड ८३ लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै निर्यातसँगै मुलुकको आयात व्यापारमा पनि ५१ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मुलुकको आयात व्यापार गत आर्थिक वर्षको सोही अवधिमा ५१ प्रतिशत अर्थात् नौ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भएको छ । गत आर्थिक वर्षमा छ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँको आयात व्यापार रहेको थियो । दैनिक भान्सामा प्रयोग हुने सामग्रीदेखि, पेट्रोलियम पदार्थ, मेसिनरी सामग्री, सुन, चाँदीलगायतका सामग्री आयात गर्ने गरेको पाइन्छ ।

चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा भटमासको कच्चा तेल ३६ अर्ब ५४ करोड चार लाख रुपैयाँ, कच्चा पाम तेल २७ अर्ब ४९ करोड १८ लाख रुपैयाँ, डिजेल ६१ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ, पेट्रोल २९ अर्ब २७ करोड २५ लाख रुपैयाँ, एमएस बिलेट २६ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ, मोबाइल २५ अर्ब ६२ करोड २९ लाख रुपैयाँ, सुन २२ अर्ब तीन करोड ९२ लाख रुपैयाँ, चाँदी १२ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ र मोबिल पाँच अर्ब ३३ करोड रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

उच्च आयात र न्यून निर्यातले गर्दा नेपालको भारत, चीन, दक्षिण कोरिया, अमेरिका लगायतका तेस्रो मुलुकसँगको व्यापारमा घाटा व्यहोर्ने गरेको छ । उच्च आयातकै कारण नेपालको भारत, चीन र तेस्रो मुलुकसँगको व्यापारघाटा उच्च रहेको पाइन्छ । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा नेपालको व्यापारघाटा ४७ प्रतिशत रहको विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा नेपालको अन्य मुलुकसँगको व्यापारघाटा ४७ प्रतिशत अर्थात् आठ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

यस्तै अर्धवार्षिक अवधिमा कुल वैदेशिक व्यापार भने ५५ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा कुल वैदेशिक व्यापारमा ५५ प्रतिशत अर्थात् ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँको रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार सात खर्ब २२ अर्ब चार करोड रुपैयाँ रहेको थियो ।

यसैबीच चिनियाँ नाका सहज नहुँदा आयात तथा निर्यात व्यापार प्रायः ठप्प हुनपुगेको छ । विभागका अधिकारीहरुका अनुसार हाल नेपालको व्यापार नेपाल भारत नाकाबाट सीमित बन्नपुगेको छ । चिनियाँ नाकाबाट अति आवश्यक सामग्रीबाहेक अन्य सामग्री आयात–निर्यात हुन नसक्दा नेपालको व्यापार एकतर्फी बन्न पुगेको उनीहरुको भनाइ छ ।

समिति सदस्यहरुले कच्चापदार्थ प्रशोधन गरी निर्यात व्यापार वृद्धि गर्नुभन्दा उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरी कृषिजन्य उपज र उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्नमा जोड दिन सरोकारावालाहरुलाई सुझाव दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया