Techie IT
×
गृहपृष्ठसमाचारसाउदी अरबमा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारमा श्रममन्त्रीको पहल

साउदी अरबमा छटपटाइरहेका श्रमिकको उपचार र उद्धारमा श्रममन्त्रीको पहल


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरबको जेद्दामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन् । शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आइतबार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनीहरु रहेको स्थानमा गई उनको अवस्थाबारे जानकारी लिएको छ ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली बिरामी राना भएको ठाउँमा गई उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ । नेपाली दूतावासले रानासहित जेद्दामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो । आठमध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य छ जना मंगलबार नेपाल फर्किनेछन् । रानाको पनि नेपाल फर्किने टिकटको व्यवस्था गरिएको थियो । तर, उनको पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ । उनी बिरामी परेपछि नेपाल फर्किने व्यवस्थाका लागि नेपाली दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए । रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले जानकारी दिए । मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया