Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार महसुल अनलाइनमार्फत नै तिर्न सकिने

भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सकिने


काठमाडौं । व्यवसायीहरूले अब भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन् । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको बुधबार अर्थमन्त्री जनार्दन शर्माले शुभारम्भ गरेका हुन् । ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा उक्त प्रणालीको सुभारम्भ गर्दै मन्त्री शर्माले अब घरमै बसेर भन्सार जाँचपास गर्न सकिने बताए ।

यसले राजस्व संकलनमा समेत सहजता प्रदान गर्ने उनको भनाई । ‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मदत गर्नेछ ।’ त्यस्तै उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधारअन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए । मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिटै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन मालवस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्दै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुनसक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने बताए ।

भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ थियो । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने उनले बताए । यसैगरी उनले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृंखलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँँदै अर्थतन्त्र धराशायी नभएको बताए । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेको भन्दै उनले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने दाबी गरे । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने बताए । त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवं तालिमको व्यवस्था हुनुपर्नेमा समेत उनले जोड दिए । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याए ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरे । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनको भनाइ थियो । नयाँ पुस्तालाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उनले बताए । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया