Techie IT
×
गृहपृष्ठbreakingनियमविपरीत सहायक महाप्रबन्धक नियुक्त गरेको भन्दै समितिले लगायो जरिवाना

नियमविपरीत सहायक महाप्रबन्धक नियुक्त गरेको भन्दै समितिले लगायो जरिवाना

नियमविपरीत सहायक महाप्रबन्धक नियुक्त गरेको भन्दै समितिले लगायो जरिवाना


काठमाडौं । नेपाली बीमा क्षेत्रमा स्वघोषितरुपमा आफूलाई नम्बर १ कम्पनी भएको दाबी गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारबाहीको भागिदार भएको छ । कम्पनीले पटक–पटक नियमनकारी निकाय बीमा समितिले जारी गरेको निर्देशनको अवज्ञा गरेको भन्दै कारबाहीस्वरुप नगद जरिवाना तिराएको हो ।

समितिको कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलका अनुसार नेपाल लाइफले संस्थागत सुशासनसम्बन्धी निर्देशिकाको अवज्ञा गरेका कारण कारबाही गरिएको हो । ‘समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्थाबमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गरेपछि समितिले कारबाहीस्वरुप १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो’, प्रवक्ता पौडेलले भने ।

कम्पनीले बीमा समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्ने उजुरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्थाबमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको प्रवक्ता पौडेलले बताए ।

प्रवक्ता पौडेलका अनुसार यसका अतिरिक्त उक्त कम्पनीले बीमा समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउनेछैन’ भन्ने व्यवस्था छ । ‘तर यो व्यवस्थाको विपरीत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवाल आठवटा र विमल ढकाल तीनवटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानी–जानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो’, प्रवक्ता पौडेलले भने ।


क्याटेगोरी : breaking, समाचार

तपाईको प्रतिक्रिया