Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्रिप्टोकरेन्सीको कारोबारमा राष्ट्र बैंकको भूमिका शंकास्पद

क्रिप्टोकरेन्सीको कारोबारमा राष्ट्र बैंकको भूमिका शंकास्पद

कारोबारमा संलग्न बैंकहरुद्वारा अनुसन्धानमा असहयोग


काठमाडौं । क्रिप्टोकरेन्सीको कारोबारमा नेपाल राष्ट्र बैंकको भूमिका नै शंकास्पद देखिएको छ । राजस्व अनुसन्धान विभागको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरिसक्दा पनि राष्ट्र बैंकले आफ्नो नियमनकारी निकायहरुलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन नदिएको, अनुसन्धानको दायरामा परेका व्यक्तिको खाताबाट निर्विवादरुपमा रकम भुक्तानी दिनुले पनि क्रिप्टोरेन्सीको कारोबारमा राष्ट्र बैंकको भूमिका शंकास्पद देखिएको हो ।

यसअघि गायिका आनी छोइङ डोल्माको खातामा रकम आएको भन्दै शंकास्पद कारोबारमा खाता नै रोक्का गरी अनुसन्धान गरे पनि राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा भने कुनै पनि कदम नचाल्नुले पनि यसमा राष्ट्र बैंकको भूमिका रहस्यमय देखिएको हो । कारोबारमा संलग्न व्यक्ति राजनीतिक पहुँचको व्यक्ति भएकाले पनि हुुनसक्छ राष्ट्र बैंककै मौन समर्थनमा कारोबारमा संलग्न सेञ्चुरी कमर्सियल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, मेगा बैंक समेतले अनुसन्धानमा सहयोग नगरेको देखिएको छ ।

पछिल्लो समय देशमा विदेशी मुद्राको सञ्चिति डरलाग्दो तरिकाले घटिरहेको थियो । सामान्यतया अलिक कम भए पनि महिनाको अन्तिममा औसत रेमिट्यान्स सन्तोषजनकरुपमा नै हुुने गरेको थियो । तर पछिल्लो समयमा सुधार हुने कुनै लक्षण नेपाल राष्ट्र बैंकले भेट्टाउनसकेको थिएन ।

समग्रमा विदेशमा काम गर्ने कामदारले रकम गैरकानुनी किसिमले पठाएकाले मात्रै विदेशी मुद्राको सञ्चिति घटेको भन्ने निष्कर्षमा नेपाल राष्ट्र बैंक रहेको थियो । तर वास्तविकता अर्कै रहेको आशंका राजस्व अनुसन्धान विभागलाई हुनु अस्वाभाविक थिएन किनकि बजारमा अनलाइन डलरको कारोबार भइरहेको कुरा अनुसन्धानमा सामान्य चासो राख्ने जो कोहीलाई पनि थाहा थियो ।

बजारमा यति धेरै हल्ला हुनुको पछाडि बढ्दो अमेरिकी डलरको मूल्य थियो तर डलरभन्दा कैयौँ ठूलो भ्यालु बिटक्वाइन अर्थात् डिजिटल मुद्राको थियो । कुनै समय एक बिटक्वाइनको मूल्य ६८ हजार डलरसम्म पुगेको थियो भने केही महिनायता पनि ४५ हजार डलरको हाराहारीमा रहेको थियो । नेपालमा पनि अनलाइन कारोबारहरु बढ्दै गएको अवस्थामा प्रतिबन्धित भए पनि बिटक्वाइन लगायतका क्रिप्टो करेन्सीको कारोबार गर्नेहरु उल्लेख्य रुपमा बढिरहेका थिए । अनलाइन जुवा, विभिन्न विदेशी क्यासिनोमा सजिलै खेल्न पाउने तथा भुक्तानी पनि नेपालमै सहजै हुने भएपछि विदेशमा विभिन्न एजेन्ट राखेर डलर होल्ड गरी यता नेपाली मुद्रामा भुक्तानी दिई सहजै कारोबार भइरहेको जानकारी राजस्व अनुसन्धानले नपाउने कुरै थिएन ।

दशैँअगाडि देखिने अनलाइन डलरको कारोबार गर्ने गिरोहको खोजीमा अपरेसन चलाएको विभागले पुस ११ मा कैलाली जिल्ला लम्कीचुहा नगरपालिका घर भई कालोपुल डेरा गरी बस्ने दिनेश खड्कालाई नियन्त्रणमा लियो । उनलाई नियन्त्रणमा लिनुअघि निजको बैंकिङ विवरण हेरेर अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले कारोबारको स्रोत नदेखेपछि अनलाइन डलरको कारोबार रहेको कुरामा ढुक्क भएको थियो । निज खड्का पशुपति बहुमुखी क्याम्पस चाबहिलको एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको इकाइ सदस्य र निजका बाबु युवासंघ कैलालीका पूर्वअध्यक्ष तथा हाल प्रदेश कमिटी सदस्य रहेको कुरा खुल्यो ।

दिनेश खड्काको दुईवटा मोबाइलमा १५ भन्दा बढी बैंक खाताको इमेल र इबैंकिङ सेवा थियो । केटी साथीका नाउँमा समेत धेरैवटा बैंकबाट करोडौँको कारोबार भएको र दिदी तथा बाबु समेतका नाउँबाट निज आफैँले कारोबार गर्ने गरेको देखियो । यस प्रकरणमा पक्राउ परेका व्यक्तिको हकमा अस्वाभाविक कारोबारको सूचना सम्बन्धित बैैंकले राष्ट्र बैंकलाई दिएर अनुसन्धान गर्नुपर्ने थियो तर बैंकले राजस्व अनुसन्धान विभागले स्टेटमेन्ट मागेर अनुसन्धान थाल्दा समेत पत्तो नपाउनु तथा अनुसन्धानका लागि अन्य खाताहरुको निगरानी समयमा नगरेबाट बैंकहरुको मिलेमतो थिएन भन्ने अवस्था छैन ।

यदि बैंकहरुले निगरानी गरेका छन् भनेर दाबी लिन्छन् भने सो कुरालाई पुष्टि गर्ने आधार बैंकहरुसँग छैन । पक्राउ परेका व्यक्ति एमालेको जिम्मेवार कार्यकर्ता भएको देखिन्छ । केपी ओली सरकारका पालामा नियुक्त गभर्नरको भूमिका साथै ओली सरकारका आईटी विज्ञ भनिएका विवादास्पद अस्गर अलिलगायत यस अनलाइन डलर ओसारपसारकाण्डमा कतै न कतै संलग्न छैनन् भन्न सकिँदैन । अवैध डलर ओसारपसार मुद्दामा ३० दिनभित्र मुद्दा अदालतमा बुझाउनुपर्ने हद म्यादका कारण पनि अन्य विषयमा राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गर्ला । अहिले बैंकहरुमाथि अवैध क्रिप्टोकरेन्सीको कारोबारमा कतै न कतै साथ दिएको आरोप छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादीहरु दिनेश खड्काले इ स्व्रिmल, बेन्समार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी दिनेश खड्काको ग्लोबल बैंकबाट नौ करोड ७९ लाख ९८ हजार पाँच सय ८१ रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट पाँँच करोड ७७ लाख छ हजार आठ सय २६ रुपैयाँ, भगवती खड्काको एनआईसी एसिया बैंक समेतबाट २० करोड, ४२ लाख ९४ हजार पाँच सय २६ रुपैयाँ, नर बहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ गरी कुुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ नेपाल राष्ट्र बैंकको २०७८ पुस ११ गतेको सूचनाअनुसार १ अमेरिकी डलरको रु. १२०.३४ को कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय हुन आउने अमेरिकी डलर ३१ लाख २७ हजार आठ सय ९६ रकम दिनेश खड्का समेतले विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम सूचना समेतले निषेधित कसुर गरेको पुष्टि हुन आएकोले दिनेश खड्कालाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र उपदफा (९) बमोजिम थप सजायको मागदाबी लिने ।

नरबहादुर खड्काको खातामा जम्मा भएको तथा निजमार्फत अवैध डलर प्रदान गर्ने व्यक्तिहरु रेखा जैसी, पुस्कर श्रेष्ठको बैंक खातामा बारम्बार रकम जम्मा गरी मुख्य प्रतिवादी दिनेश खड्कासँगसँगै उल्लिखित कसुरमा सामूहिक संलग्नता देखिएकोले आफ्नो बैंक खाता प्रयोग गरी बिगो एक करोड ६४ लाख ११ हजार एक सय ६६ को परिवर्तित अमेरिकी डलर एक लाख ३६ हजार तीन सय ७३ बराबरको रकम विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ अनुसार नेपाल राष्ट्र बैंकको मिति २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ को सूचना तथा दफा १७(१) समेतले निषेधित कसुर गरेको हुँदा यी प्रतिवादी नर बहादुर खड्कालाई उक्त ऐनको दफा १७ उपदफा ९१० बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम थप सजाय हुन समेत मागदाबी लिने ।

अनिता धितालको खातामा जम्मा भएको तथा निजमार्फत अवैध डलर प्रदान गर्ने व्यक्तिहरु रेखा जैसी पुस्कर श्रेष्ठको बैंक खातामा बारम्बार रकम जम्मा गरी मुख्य प्रतिवादी दिनेश खड्का सँगसँगै संलग्न रहेको सामूहिक रुपमा कसुर गरेको देखिएकोले आफ्नो बैंक खाता प्रयोग गरी बिगो पाँच करोड ७७ लाख छ हजार आठ सय २६ रुपैयाँको परिवर्तित अमेरिकी डलर चार लाख ७९ हजार पाँच सय ३१ बराबरको रकम विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ अनुसार नेपाल राष्ट्र बैंकको मिति २०७४।०४।२९, २०७५।१२।२६ र २०७८।०५।२४ को सूचना तथा दफा १७ उपदफा (१) समेतबाट निषेधित कसुर गरेको हुँदा यी प्रतिवादी अनिता धिताललाई उक्त ऐनको दफा १७ उपदफा ९१० बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ उपदफा (९) बमोजिम थप सजाय हुन मागदाबी लिने ।

भगवती खड्काको खातामा जम्मा भएको तथा निजमार्फत अवैध डलर प्रदान गर्ने व्यक्तिहरु रेखा जैसी, पुस्कर श्रेष्ठको बैंक खातामा बारम्बार रकम जम्मा गरी मुख्य प्रतिवादी दिनेश खड्का सँगसँगै सामूहिक रुपमा यी प्रतिवादी भगवती खड्काको संलग्नता देखिएकोले आफ्नो बैंक खाता प्रयोग गरी बिगो २० करोड ४२ लाख ९४ हजार पाँच सय २६ सो अनुसार परिवर्तित अमेरिकी डलर १,६९,७६,४४.३९ बराबरको रकम विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ अनुसार नेपाल राष्ट्र बैंकको मिति २०७४।०४।२९, २०७५।१२।२६ र २०७८।०५।२४ को सूचना तथा दफा १७ उपदफा (१) समेतले निषेधित कसुर गरेको हुँदा यी प्रतिवादी भगवती खड्कालाई उक्त ऐनको दफा १७ उपदफा (१) बमोजिम सजाय गरी बिगो जफत हुन तथा दफा १७ उपदफा (९) बमोजिम थप सजाय हुन मागदाबी लिनु र प्रस्तुत वारदातमा कोही कसैको संलग्नता खुली आएमा निजका हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम हुने व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया